भारतको लगातार दोस्रो हार : सिरिज न्युजिल्यान्डलाई
एजेन्सी । न्युजिल्यान्ड र भारतबीचको तिन खेलको एकदिवसीय सिरिजमा घरेलु टोली न्युजिल्यान्डले लगातार दोस्रो जित निकाल्दै सिरिज एक खेल अगाडीनै आफ्नो पक्षमा पार्न सफल भएको छ ।
शनिबार भएको खेलमा न्युजिल्यान्डले पाहुना टोली भारतलाई २२ रनले पराजित गरेको थियो ।
खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ७४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भारत ४८.३ ओभरमा अलआउट हुँदै २ सय ५१ रनमा सिमित हुन पुगेको थियो ।
भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ठूलो योगदान गरेका थिए । ७३ बलको सामना गरेका उनले २ चौका र १ छ्क्कासहित ५५ रन बनाए ।
यस्तै श्रेयस अय्यरलेले पनि अर्धशतकीय पारी खेल्ने क्रममा ५२ रन बनाए भने नभदीप शैनीले पनि ४५ रनको योगदान गरेका थिए ।
यो खेलमा भारतका सुरुवाती खेलाडी चल्न सकेनन , जसमा पृथ्वी शा २४ रन मंयाक अग्रवाल ३ रन तथा कप्तान विराट कोहली १५ रनमा आउट हुन पुगेका थिए ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी, हमीश बेनेट काइल जेमिसन र कोलिन डी ग्रान्डहोमे समान २/२ विकेट लिएका थिए भने जेम्स नीशमको नाममा पनि एक विकेट रहेको थियो ।
त्यसअघि ईडेन पार्क अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ७३ रन बनाएको थियो ।
न्युजिल्यान्डका लागि ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिलले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ७९ रन बनाए । ७९ बलको सामना गरेका उनले उक्त रन जोड्ने क्रममा ८ चौका र ३ छ्क्का प्रहार गरेका थिए ।
यस्तै टिमका लागि रस टेलरले ७३ रनको योगदान गरेका थिए । अघिल्लो खेलमा शतक प्रहार गरेका उनले यो खेलमा अविजित रहदै ७४ बलमा ६ चौका र २ छ्क्कासहित उक्त रन बनाएका थिए ।
यी दुई बाहेक हेनरी निकोल्सले ४१ रन तथा टम ब्लन्डेलले २२ रनको योगदान गरेका थिए ।
बलिङतर्फ भारतका युजवेंद्र चहलले सर्वाधिक ३ तथा सार्दुल ठाकुरले २ विकेट लिएका थिए भने रविन्द्र जडेजाले पनि १ विकेट लिए ।
अब एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेल मंगलबार हुनेछ । त्यसपछि दुई टेस्ट खेल हुनेछ । एकदिवसीय सिरिज अघि पाँच खेलको टि – ट्वान्टी सिरिज भएको थियो । जसमा सबै खेल न्युजिल्यान्डले गुमाएको थियो ।