चितवन प्रिमियर लिगको उपाधि राप्ती र्यापिड्सलाई
काठमाडौं ( अनलाइन खेलखबर ) । पहिलो संस्करणको चितवन प्रिमियर लिग ( सिपीएल ) को उपाधि राप्ती र्यापिड्सले उचालेको छ ।
शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा सौराहा स्याण्ड्सलाई ८ विकेटले पराजित गरेसँगै राप्ती प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा सौराहाले प्रस्तुत गरेको १ सय ४० रनको विजयी चुनौतीलाई राप्तीले १७.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
राप्तीलाई पहिलो संस्करणको च्याम्पियन बनाउँन कप्तान आकाश थापाले कप्तानी पारी खेलेका थिए । ५७ बलको सामना गरेका उनले १० चौका र २ छ्क्कासहित ७४ रनको योगदान गरेका थिए ।
यस्तै साकार ढकालले ३२ रन तथा हरि बहादुर चौहानले १८ रन बनाउँदा भिम सार्की ११ रनमा अविजित रहे ।
बलिङतर्फ सौराहाका आकाश चन्द र सुवर्ण थापाले १/१ विकेट लिएका थिए ।
त्यसअघि नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सौराहाले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
सौराहाका लागि राजेश ढकालले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा अर्धशतकीय पारी खेलेका थिए । ४८ बलको सामना गरेका उनले ७ चौकासहित ५१ रन बनाएका थिए ।
यस्तै टिमका लागि रित गौतमले १९ रन , प्रशान्त महतले ३६ र आकाश चन्द ७ रनमा अविजित रहेका थिए ।
बलिङतर्फ राप्तीका कमल थापाले २ विकेट लिन सफल भएका थिए ।
प्रतियोगिताको विजेता राप्तीले नगद २ लाख प्राप्त गर्दा उपविजेता सौराहाले १ लाख प्राप्त गर्यो ।