ओमानको लगातार दोस्रो जित
काठमाडौं (अनलाइन खेलखबर ) । नेपालमा जारी विश्वकप लिग -२ अन्तर्गतको अमेरिका , नेपाल र ओमानबीचको त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हासिल गरेको छ ।
बिहिबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गर्न सफल भयो ।
खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको विजयी लक्ष्यलाई ओमानले ४९.३ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
ओमानलाई जारी सिरिजमा लगातार दोस्रो जित दिलाउँने क्रममा याकुव ईलियासले सर्वाधिक ठूलो योगदान गरे । ११० बलको सामना गरेका उनले ६ चौका र २ छक्कासहित ७२ रन बनाउन सफल भएका थिए ।
यस्तै ओमानका लागि मोहम्मद नदीमले पनि अविजित रहदै ५५ रनको योगदान गरेपछि ओमानले जित हासिल गर्न पर्याप्त बन्यो । यी दुईबाहेक खवार अलिको ३१ रन पनि महत्वपूर्ण रहेको थियो ।
बलिङतर्फ अमेरिकाका कप्तान सौरभ नेत्रवालकर , रस्टी थेरोन, इयान होल्याण्ड र स्टीव टेलरले समान १/१ विकेट लिएका थिए
त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।
उसका लागि इयान होल्याण्डले सर्वाधिक ठूलो पारी खेलेका थिए । ७८ बलको सामना गरेका उनले ७ चौकासहित ६५ रनको योगदान गरे ।
८.२ ओभरमा टिमको स्कोर २० रन हुँदा पहिलो विकेटका रुपमा मार्शललाई व्यक्तिगत १३ रनमा गुमाएको अमेरिकाले थप ९ रन थप्दा अर्को विकेट गुमाएको थियो ।
९.४ ओभरमा टिमका स्टीव टेलर पनि ४ रन बनाएर दोस्रो विकेटको पभेलियन फर्किएका थिए । त्यसपछी टिमका लागि अक्षय होमराजले ४४ रनको योगदान गरे भने तिमिल पटेलले १६ रनको योगदान गर्दा बाकी खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम यो योगफलमा रोकिएको हो ।
बलिङतर्फ मोहम्मद नदीमले ३ तथा अकिव ईलियास , बिलाल खान र जिशान मक्सुदले समान २/२ विकेट लिए भने कलिमुल्लाको नाममा पनि १ विकेट रहयो ।