भारतमाथि न्युजिल्यान्डको सानदार जित
एजेन्सी । न्युजिल्यान्ड र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्ड विजयी भएको छ ।
बुधबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ४ विकेटले पराजित गर्न सफल भयो ।
खेलमा भारतले दिएको ३ सय ४८ रनको विशाल योगफललाई पछ्याएको जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले उक्त चुनौतीलाई ४८.१ ओभरमा मात्र ६ विकेट गुमाएर भेटाएको थियो ।
न्युजिल्यान्डका लागि रस टेलरले शतकिय पारी खेल्दै टिमलाई जिताएका थिए । खेलको प्लेयर अफ द म्याच समेत घोषित उनले ८४ बलको सामना गरेका उनले १० चौका र ४ छ्क्कासहित १ सय ९ रनको योगदान गरेका थिए । उनको यो शतक एकदिवसीयमा २१ औं शतक समेत हो ।
न्युजिल्यान्डले खेलमा सुरुवाती अवस्था देखिनै राम्रो ब्याटिङ गरेको थियो । उसका लागि ओपनरद्रय मार्टिन गुप्टिल र हेनरी निकोल्सले पहिलो विकेटका लागि ८५ रनको ओपनिङ साझेदारी गरेका थिए ।
१५.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका गुप्टिलले ४१ बलको सामना गर्दै १ चौकासहित ३२ रनको योगदान गरेका थिए ।
गुप्टिलपछि न्युजिल्यान्डले टम ब्लन्डेललाई ९ रनमा गुमाएको थियो । त्यसपछि न्युजिल्यान्डले अर्को राम्रो साझेदारी पायो ।
जसमा रस टेलर र हेनरी निकोल्सबीच तेस्रो विकेटका लागि ६२ रनको साझेदारी हुन पुगेको थियो ।
२८.३ ओभरमा टिमको स्कोर १ सय ७१ रन हुँदा हेनरी निकोल्सलाई टिमले ७८ रनमा गुमायो । कुलदिप यादवको बलमा क्याच आउट हुन पुगेका उनले ८२ बलको सामना गर्दै ११ चौकासहित उक्त रन बनाए ।
हेनरी आउट भएपछी रसलाई साथ दिन कप्तान टम लाथम मैदान आएका थिए । र उनले रस टेलरलाई साथ दिने क्रममा यी दुईबीच १३८ रनको साझेदारी हुन पुगेको थियो ।
टम लाथमले पनि ६९ रनको योगदान गरेका थिए ।
बलिङतर्फ भारतका कुलदिप यादवले २ तथा मोहम्मद शामी र सार्दुल ठाकुरले पनि १ /१ विकेट लिएका थिए ।
त्यसअघि हैमिल्टनस्थित सिडोन पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर ३ सय ४७ रन बनाएको थियो ।
भारतका लागि श्रेयस अय्यरले शतकीय पारी खेलेका थिए । १०७ बलको सामना गरेका उनले ११ चौका र १ छ्क्कासहित १०३ रन बनाएका थिए ।
यस्तै लोकेश राहुलले ८८ रन तथा कप्तान विराट कोहलीले ५१ रन र मंयाक अग्रवालले ३२ रन बनाउँदा पृथ्वी शाले २० रन बनाएका थिए भने केदार जादव २६ रनमा अविजित रहे ।
बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ तथा ईश सोधीले १ विकेट लिएका थिए ।
अब सिरिजको दोस्रो खेल शनिबार हुनेछ । यो सिरिज अघि यी दुईबीच पाँच खेलको टि – ट्वान्टी सिरिज भएको थियो । जसमा घरेलु टोली न्युजिल्यान्डले सबै खेल गुमाएको थियो ।