भारत सातौंपटक फाइनलमा
एजेन्सी । पाकिस्तानमाथि सानदार जित निकाल्दै भारत दक्षिण अफ्रिकामा जारी यु-१९ एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले पाकिस्तानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा सातौं पटक फाइनल पुगेको हो ।
खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ७३ रनको विजयी चुनौतीलाई भारतले विना विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गरेको थियो ।
साविकको विश्व विजेता समेत रहेको भारतलाई फाइनलसम्म पुर्याउन यशस्वी जयस्वाल र दिव्यंश सक्सेनाको ओपनर जोडीनै प्रयाप्त बन्यो ।
जसमा जयस्वालले शतकीय पारी खेले । ११३ बलको सामना गरेका उनले ८ चौका र ४ छ्क्काको सहयोगमा १ सय ५ रन बनाए । भने सक्सेनाले पनि ५९ रनको योगदान गरेपछी भारतलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तान ४३.१ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा सिमित हुन पुगेको थियो ।
पाकिस्तानका लागि कप्तान रोहल नाजिरले सर्वाधिक ६२ रनको योगदान गरेका थिए भने ओपनर ब्याट्सम्यान हैदर अलिले ५६ रन र मोहम्मद हरिसले २१ रन बनाउनु बाहेक अन्य पाकिस्तान खेलाडीले दोहोरो अंक समेत जोडन सकेनन् ।
बलिङतर्फ भारतका सुशान्त मिष्राले ३ तथा कार्तिक त्यागी र रवि विसनोईले समान २/२ विकेट लिएका थिए । भने जयस्वाल र अर्थर्वले पनि १/१ विकेट हात पारेका थिए ।
अब भारतले आईतबार हुने फाइनलमा बिहिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र बंगलादेश भिड्दै छन् ।