सगरमाथालाई समर्पित गर्दै सन्दीपले गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने
काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाली स्टार युवा क्रिकेटर सन्दीप लामिछानेले चितवनको रामपुरमा जनस्तरबाट बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले माघ २२ देखि २९ सम्म घरेलु भूमिमा हुन गईरहेको विश्वकप लिग -२ अन्तर्गत ओमान र अमेरिकासँगको खेलका दौरान आफ्नो विकेटका अनुसार सहयोग गर्ने बताएका छन् ।
आईतबार आफ्नो सामाजिक संजाल टुईटरमार्फत धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशालालाई सहयोग गर्ने अभिप्रायले उक्त सिरिजका दौरान आफ्नो विकेट अनुरुप सहयोग गर्ने उल्लेख गरेका छन् ।
जसमा उनले आफ्नो १ विकेट बराबर ८ हजार ८ सय ८८ सहयोग गर्ने भएका छन् । जुन रकम नेपाललाई विश्व समुदायमा चिनाउँने सगरमाथाको उचाई समेत हो ।
जसरी सगरमाथाको देश नेपालका सन्दीपले आफ्नो खेलबाट नेपालको नामलाई अहिले विश्वभर चिनाईरहेका छन् ।
सन्दीप पछिल्लो समय नेपाललाई चिनाउँने गतिलो माध्यम बनेका छन् । अहिले नेपाल भन्ने बित्तिकै सन्दीपको नाम पनि आउँछ ।
क्रिकेटले उनलाई विश्वका धेरै देशमा पुर्याईसकेको छ । क्रिकेटको माध्यमबाट उनले देशलाई चिनाउँनमा ठूलो भूमिका निर्वाह पनि गरेका छन् ।
यस्तै रंगशाला चाडैंनै बन्ने विश्वाससमेत उनको रहेको छ ।