रोहितको अर्धशतकमा भारतले दियो न्युजिल्यान्डलाई मध्यम चुनौती
एजेन्सी । कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेलेपछी पाँच खेलको टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई मध्यम चुनौती प्रस्तुत गरेको छ ।
बे ओवल मूँगानुई, तोरंगामा जारी खेलमा पाहुना टोली भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । जसअनुसार भारतले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेट गुमाएर १ सय ६३ रन बनाएको छ ।
खेलमा ओपनर ब्याट्सम्यान सन्जु सैमसनलाई १.३ ओभरमा टिमको स्कोर ८ रनमा ब्यक्तिगत २ रनमा गुमाएको भारतले त्यसपछि राम्रो सुरुवात पाएको थियो ।
सन्जु स्कट कुग्लेइजनको बलमा मिशेल सन्तनरको हातबाट क्याच आउट हुन पुगेका थिए ।
त्यसपछि भने ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान रोहित शर्मालाई लोकेश राहुलले साथ दिएका थिए ।
यी दुईबीच दोस्रो विकेटका लागि ८८ रनको साझेदारी हुन पुगेका थिए । ११.३ ओभरमा टिमको स्कोर ९६ हुँदा हमीश बेनेटको बलमा सन्तनरको हातबाट क्याच आउट हुनुअघि लोकेशले ३३ बलको सामना गर्दै ४ चौका र २ छ्क्कासहित ४५ रन बनाए ।
लोकेश पछि चोटका कारण कप्तान रोहित शर्माले आफ्नो ब्यक्तिगत ६० रनमा रिटायर्ट हर्ट हुन पुगेका थिए । ४१ बलको सामना गरेका उनले ३ चौका र समान ३ छ्क्कासहित उक्त रन बनाएका थिए ।
रोहित पछि टिमको पारीलाई श्रेयस अय्यर र सिभव दुबेले अगाडी बढाएका थिए । तर सिभवले निराशाजनक प्रदर्शन गर्ने क्रममा सस्तैमा आउट हुन पुगे ।
स्कट कुग्लेइजनको बलमा आउट हुन पुगेका उनले मात्र ५ रन जोडे भने श्रेयस ३३ रनमा अविजित रहे रहँदा मनिष पाण्डे पनि ११ रनमा अविजित रहे ।
यसअघिका चार खेलमा पराजित हुन पुगेको न्युजिल्यान्ड आज अन्तिम खेलमा सान्त्वना जितको खोजिमा रहेको छ ।
सुरुवाती दुई खेल सहज तरिकाले गुमाएको न्युजिल्यान्ड त्यसपछीका दुई खेलमा सुपर ओभरमा निराश हुन पुगेको थियो ।