अष्ट्रेलियासँगको दोस्रो खेलमा भारत विजयी : सिरिज बराबरीमा
एजेन्सी – अष्ट्रेलिया र भारतबीचको ३ खेलको एकदिवसीय सिरिज बराबरी भएको छ ।
शुक्रबार भएको सिरिजको दोस्रो खेलमा घरेलु टोली भारतले पाहुना टोली अष्ट्रेलियालाई ३६ रनले पराजित गरेपछी भारतले सिरिज बराबरीमा ल्याएको हो ।
सिरिज अन्तर्गत पहिलो खेलमा भने भारत अष्ट्रेलियासँग १० विकेटले पराजित हुन पुगेको थियो ।
यता खेलमा भारतले प्रस्तुत गरेको ३ सय ४१ रनको विजयी लक्ष्यलाई पछ्याएको अष्ट्रेलिया ४९.१ ओभरमा अलआउट हुँदै ३ सय ४ रनमा सिमित हुन पुगेपछि नतिजा भारतले आफ्नो पक्षमा पार्न सफल भयो ।
विशाल लक्ष्य पछ्याएको भएपनी अष्ट्रेलियाको सुरुवात भने सन्तोषजनक हुन भने सकेन । दुई ओपनर तथा टिमका भरपर्दा ब्याट्सम्यान डेविट वार्नर र कप्तान आरोन फिन्चलाई टिमले सस्तैमा गुमायो ।
३.२ ओभरमा टिमको स्कोर २० रन हुँदा डेविट वार्नर ब्यक्तिगत १५ रन बनाएर आउट हुन पुग्दा अर्का ओपनर आरोन फिन्चले पनि ठूलो पारी खेल्न असफल रहे ।
रविन्द्र जडेजाको बलमा क्याच आउट हुन पुगेका उनले ४८ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ३३ रन बनाए ।
त्यसपछि भने अष्ट्रेलियाले एउटा राम्रो साझेदारी पायो । स्टीवन स्मिथ र मार्नस लाबुस्चगनेले टिमको पारी उकास्ने क्रममा ९६ रनको साझेदारी गरेका थिए ।
तर ३०.५ ओभरमा टिमको स्कोर १७८ रन हुँदा मार्नसलाई अष्ट्रेलियाले तेस्रो विकेटका रुपमा गुमायो । मार्नसले ४६ रन बनाए ।
त्यसपछि अष्ट्रेलियाले पाँचौ विकेटका रुपमा राम्रो ब्याटिङ गरिरहेका स्टीवन स्मिथलाई गुमायो । ईनिङको सर्वाधिक ठूलो योगदान गरेका उनि शतक बनाउन नजिक पुगेर पनि असफल भए। कुलदिप यादवको बलमा आउट हुनअघि उनले १०२ बलको सामना गर्दै ९ चौका र १ छ्क्काको मद्द्तमा ९८ रन बनाए ।
स्मिथ पछि भने टिमका लागि अन्य खेलाडीबाट उल्लेख्य साथ नपाउँदा टिम पराजित हुन पुगे । यसबीचमा एलेक्स केरीले १८ तथा एश्टन एगरले २५ रन जोडे ।
बलिङतर्फ भारतका मोहम्मद शामीले ३ तथा नभदिप शैनी , रविन्द्र जडेजा र कुलदिप यादवले समान २/२ विकेट लिए भने जसप्रित बुमराहले पनि १ विकेट हात पारे ।
यसअघि सौराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियम , राजकोटमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निकै राम्रो ब्याटिङ प्रस्तुत गर्ने क्रममा निर्धारित ५० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा ३ सय ४० रन बनाएको थियो ।
सुरुवात देखीनै राम्रो लयमा ब्याटिङ गरेको भारतका लागि ओपनरद्वय रोहित शर्मा र शिखर धवनले टिमका लागि ठोस सुरुवात दिलाएका थिए ।
यी दुईबीच ८१ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो ।१३.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका रोहितले ४२ रन बनाए ।
एडम जम्माको बलमा एलबिड्ब्लुको सिकार हुनुअघि रोहितले ४४ बलको सामना गर्दै ६ चौकासहित उक्त रन बनाएका थिए ।
रोहित आउट भएपछी शिखरलाई साथ दिन कप्तान विराट कोहली मैदानमा आए र शिखरलाई उनले राम्रो साथ पनि दिए ।
र दोस्रो विकेटका लागि शिखर र विराटबीच १०३ रनको साझेदारी हुँदा टिमले निकै राम्रो सुरुवात पायो ।
तर २८.४ ओभरमा टिमको स्कोर १८४ रन हुँदा दुर्भाग्यपूर्ण तरिकाले शिखर ९६ रनमा आउट हुन पुगे ।
आफ्नो १८ औं शतक नजिक पुगेर पनि असफल भएपनी शिखरले टिमका लागि भने निकै महत्वपूर्ण भूमिकामा भने निर्वाह गर्न सफल भए ।
केन रिचर्डसनको बलमा मिशेल स्टार्कको हातबाट क्याच आउट हुन पुगेका शिखरले ९० बलको सामना गर्दै १३ चौका र १ छ्क्का प्रहार गर्दै उक्त रन बनाउन सफल भए ।
त्यसपछि टिमको पारीलाई कप्तान विराट कोहलीले अगाडि बढाए । जसमा उनले ७८ रनको योगदान गरे ।
चौथो विकेटका रुपमा आउट हुन पुगेका उनले ७६ बलको सामना गर्दै ६ चौकाको सहयोगमा उक्त रन बनाए ।
यस्तै टिमका लागि लोकेश राहुलले पनि ८० रनको योगदान गर्दा भारत विशाल लक्ष्यतर्फ पुग्न सफल भएको हो ।
बलिङतर्फ अष्ट्रेलियाका एडम जम्पाले ३ तथा केन रिचर्डसनले २ विकेट हात पारे ।
अब सिरिजको अन्तिम खेल आईतबार हुनेछ ।