
सुदुरपश्चिमलाई पराजित गर्दै पुलिस एमएम कपको फाइनलमा
सुनसरी ( अनलाइन खेलखबर ) – सुदुर पश्चिमलाई ९९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
खेलमा पुलिसले दिएको २ सय ३० रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको सुदुर पश्चिम ३३.४ ओभरमा अलआउट हुँदै १ सय ३० रनमा सिमित हुन पुग्दा टिम निराश हुन पुग्यो ।
सुदुर पश्चिमका लागि किरण थगुंनाले सर्वाधिक धेरै रन बनाए । ४६ बलको सामना गरेका उनले २ चौका र ३ छ्क्काको सहयोगमा ३९ रन बनाए ।
यस्तै आकाश चन्दले २३ रन बनाउँदा ओपनर ब्याट्सम्यान गजेन्द्र बोहरा र खडक बोहराले क्रमश : १२ र १४ रन जोडे ।
भने लोकेश बम ८ रन बनाएर आउट हुन पुगे ।
बलिङतर्फ पुलिसका सागर ढकालले ५ तथा ललित राजबम्शीले ३ र ललित भण्डारी र योगेन्द्र सिँह कार्कीले समान १/ १ विकेट लिए ।
त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रनमा सिमित हुन पुगेको थियो ।
पुलिसका लागि दीपेन्द्र सिँह एरिले सर्वाधिक ठूलो योगदान गरे । ७६ बलको सामना गरेका उनले ६ चौका र १ छ्क्काको मद्दतमा ६८ रन बनाए ।
यस्तै ललित भण्डारीले ४० तथा अनिल कुमार साहले ३१ रन , योगेन्द्र सिँह कार्कीले २९ , कुशल भुर्तेलले १७ रनको योगदान गरे ।
बलिङतर्फ सुदुर पश्चिमका विनोद लामा , शेर मल्ल र आकाश चन्दले समान ३/३ विकेट हात पारे । भने सन्तोष भट्टले पनि १ विकेट लिए ।
अब प्रतियोगिताको उपाधिका लागि पुलिस र आर्मी शनिबार भिड्ने छ्न ।