onlinekhelkhabar.com

Complete website for Nepali Sports News

बाग्मतीलाई हराउँदै आर्मी फाइनलमा

सुनसरी ( अनलाइन खेलखबर ) | बाग्मती प्रदेशलाई ६४ रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले दिएको २ सय १७ रनको विजयी चुनौतीलाई पछ्याएको बाग्मती प्रदेश ३८.१ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा सिमित हुन पुगेपछी आर्मीलाई फाइनल पुग्न प्रयाप्त बनेको हो ।

बाग्मतीका लागि सोनु तामाङले सर्वाधिक ठूलो योगदान गरे । ७५ बलको सामना गरेका उनले ४ चौका र ६ छ्क्काको मद्दतमा ७४ रन बनाएका थिए ।

यस्तै कप्तान सुबाश खकुरेलले १५ तथा ईशान पाण्डेले १७ रनको योगदान दिएपनि अन्य खेलाडीबाट साथ नपाउँदा टिम निराश हुन पुग्यो ।

बलिङतर्फ सुशन भारीले ३ तथा शाहब आलमले २ र विक्रम शोब , हरि बहादुर चौहान ,हरि सङखर झा र कुशल मल्लले समान १/१ विकेट लिए ।

त्यसअघि इनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी ४६. ३ ओभरमा अलआउट हुँदै २ सय १६ रन बनाएको थियो ।

ब्याटिङमा आर्मीका अनिल मण्डलले सर्वाधिक ठूलो योगदान गरे । ७३ बलको सामना गरेका उनले ३ चौकाको सहयोगमा ४३ रन बनाएका थिए ।

यस्तै टिमका लागि कुशल मल्लले ३७ रन तथा रोहित कुमार पौडेलले २९ रन र विक्रम सोबले २४ रनको योगदान गरे ।

बलिङतर्फ बाग्मती प्रदेशका गौतम केसीले सर्वाधिक ४ विकेट लिन सफल हुँदा ईशान पाण्डे , तिलक भण्डारी र नन्दन यादवले समान २/२ विकेट हात पारे ।

अब त्रिभुवन आर्मीले शनिबार हुने फाइनलमा नेपाल पुलिस र सुदुर पश्चिममबीचको खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्