घरेलु टोली भारतको श्रीलंकामाथि सहज जित

घरेलु टोली भारतको श्रीलंकामाथि सहज जित

एजेन्सी – भारत र श्रीलंकाबीचको ३ खेलको टि – ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ ।

मंगलबार भएको खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी लक्ष्यलाई भारतले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

खेलमा भारतका ओपनर ब्याट्सम्यान लोकेश राहुल र शिखर धवनले टिमलाई ठोस सुरुवात दिलाउँने क्रममा ७१ रनको ओपनिङ साझेदारी गरेका थिए ।

टिमलाई राम्रो सुरुवात दिएका लोकेश ९.१ ओभरमा वानिन्दु हसरंगाको बलमा आउट हुन अघि ३२ बलको सामना ६ चौकाको सहयोगमा ४५ रन बनाएका थिए ।

लोकेश आउट भएपछी दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका अर्का ओपनर ब्याट्सम्यान शिखर धवनले ३२ रन बनाउन सफल भए । उनि वानिन्दु हसरंगाको बलमा एलबिड्ब्लुको सिकार भएका थिए ।

त्यसपछि श्रेयस अय्यर र कप्तान विराट कोहलीले टिमको पारीलाई अगाडी बढाएका थिए । यि दुईबीच तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए ।

१७.१ ओभरमा टिमको स्कोर १ सय ३७ रन हुँदा श्रेयस अय्यर ब्यक्तिगत ३४ रनमा लाहिरु कुमाराको बलमा आउट हुन पुगेका थिए ।

यस्तै विराट कोहलीले भने ३० रनमा अविजित रहे । १७ बलको सामना गरेका विराटले १ चौका र २ छ्क्का प्रहार गरे ।

त्यसअघि होल्कर क्रिकेट रंगशाला ईन्डोरमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको पाहुना टोली श्रीलंकाले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।

श्रीलंकाका लागि विकेट किपर ब्याट्सम्यान कुसल परेराले सर्वाधिक धेरै रनको योगदान गरे । २८ बलमा ३ चौका प्रहार गरेका कुसलले ३४ रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान दनुष्का गुणाथिलाकाले २० रन तथा अविष्का फर्नांडोले २२ रनको योगदान गरेका थिए ।

अन्य खेलाडीबाट भने टिमले साथ पाउँन सकेन र टिम मध्यम स्कोरमा रोकिन पुगेको थियो ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले ३ विकेट लिएका थिए । आफ्नो स्पेल अन्तर्गत ४ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएर उक्त विकेट लिन सफल भए ।

यस्तै भारतका कुलदिप यादव र नभदिप शैनीले समान २/२ विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए ।

३ खेलको टि – ट्वान्टी सिरिजको अन्तिम खेल अब शुक्रबार पुर्णेमा हुनेछ । यसअघि सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *