कुशलको शतकीय ब्याटिङमा आर्मीद्वारा एपीएफसामू विशाल चुनौती प्रस्तुत
इनरुवा ( अनलाइन खेलखबर ) । कुशल मल्लको शतकीय ब्याटिङको मद्दतमा विभागीय टोली त्रिभुवन आर्मीले इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ सामु विशाल विजयी चुनौती प्रस्तुत गरेको छ ।
इनरुवास्थित क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित ४६ ओभर पूरै ब्याटिङ गर्दै सबै विकेट गुमाएर २ सय ८१ रन बनाएको छ ।
खेलमा मध्यम सुरुवात गरेको आर्मीले पहिलो विकेट १३.६ ओभरमा टिमको स्कोर ३७ रन हुँदा ओपनर ब्याट्सम्यान राजु रिजाललाई व्यक्तिगत ९ रनमा गुमाएको थियो ।
सुर्य तामाङको बलमा आशिफ शेखको हातबाट क्याच आउट हुनअघि राजुले ३७ बलको सामना गर्दै १ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।
राजु आउट भएपछी हरी बहादुर चौहानले भने टिमलाई निराश बनाए । दोस्रो विकेटका रुपमा आउट हुन पुगेका हरीले खाता खोल्न समेत हुन सकेनन् उनि बसन्त रेग्मीको बलमा आउट हुन पुगेका थिए ।
त्यसपछी टिमको पारीलाई ओपनर ब्याट्सम्यान अनिल कुमार साह र कुशल मल्लले सम्हालेका थिए ।
यी दुईबीच तेस्रो विकेटका लागि ८५ रनको साझेदारी हुन पुगेको थियो ।
२६.२ ओभरमा तेस्रो विकेटका रुपमा आउट भएका अनिल कुमार मन्डलले ४१ रनको योगदान गरे ।
यस्तै टिमका लागी ठुलो योगदान गरेका कुशल मल्लले शतकीय पारी खेले । ६३ बलको सामना गरेका उनले ५ चौका र १३ छ्क्काको मद्दतमा उनले १ सय ११ रन बनाएका थिए ।
यता टिमका लागी रोहित कुमार पौडेलले २६ , राजेश पुलामी मगरले ३८ रन तथा विक्रम शोबले १४ रनको योगदान गरेका थिए ।
बलिङतर्फ एपीएफका बसन्त रेग्मीले ४ तथा अमर सिँह रौटेलाले २ तथा अभिनाश बोहरा र सुर्य तामाङले समान १/१ विकेट लिएका थिए ।
अब आर्मीले दिएको २ सय ८२ रनको विशाल चुनौतीलाई पछ्याउँदै एपीएफले अबको केहि समयपछि जवाफी ब्याटिङ गर्नेछ ।