सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको अर्को सानदार जित
एजेन्सी – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा पाँचौं जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा मेलबर्न स्टार्सले जित हासिल गर्ने क्रममा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो ।
खेलमा रेनेगेड्सले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
मेलबर्न स्टार्सलाई लिगमा अर्को सानदार जित दिलाउन मार्कुस स्टोनीसले अर्धशतकीय पारी खेले ।
अविजित रहेका उनले ५५ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६८ रन बनाएका थिए । यस्तै टिमका लागि कप्तान ग्लेन म्याक्सवेलले पनि अविजित रहदै ४० रनको योगदान गरेका थिए ।
त्यसअघि मेलबर्न स्टार्सका निक मैडिन्सनले १७ तथा बेन डंकले १५ रन बनाएका थिए ।
बलिङतर्फ रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
रेनेगेड्सका लागि शॉन मार्शले सर्वाधिक धेरै रन बनाउने क्रममा ४३ रनको योगदान गरेका थिए । भने टिमका लागि बेउ वेब्स्टरले २९ रन तथा कप्तान आरोन फिन्चले २५ रन थपेका थिए ।
बलिङतर्फ मेलबर्न स्टार्सका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । उनले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गर्दै मात्र २६ रन खर्चिएर उक्त विकेट लिएका हुन् ।
योसँगै लिगमा सन्दीपले आफ्नो विकेट सङख्या ६ पुर्याएका छन ।
यस्तै एडम जाम्पा र डेल स्टेनले पनि समान २- २ विकेट हात पारेका थिए ।
यो जितसँगै मेलबर्न स्टार्स लिगमा ६ खेलबाट ५ खेलमा जित हासिल गर्दै १० अंकका साथ अंकतालिकाको पहिलो स्थानमा यथावत नै रहेको छ ।
यता पराजित मेलबर्न रेनेगेड्स अंक विहीन रहदै पुछारमा रहेको छ ।