प्रदेश १ लाई हराउँदै प्रदेश ३ सेमिफाइनल प्रवेश
इनरुवा ( अनलाइन खेलखबर ) |दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ सेमिफाइनल पुग्न सफल भएको छ ।
शनिवार भएको समूह ‘सी’ को अन्तिम खेलमा प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै समुह सी को विजेताको हैसियतमा प्रदेश ३ सेमिफाइनलमा प्रवेश गरेको हो ।
निकै महत्वपूर्ण खेलमा प्रदेश १ ले दिएको १ सय ४५ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको प्रदेश ३ ले उक्त चुनौतीलाई २६ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाएको थियो ।
प्रदेश ३ को जितमा कप्तान सुबास खकुरेलले सर्वाधिक ठूलो योगदान गरे । उनले टिमलाई जिताउने क्रममा अविजित रहदै ८५ रन बनाएका थिए ।
७३ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार गरेका थिए ।
यस्तै टिमका लागि ओपनर रित गौतम १७, आदिल खान ११ , इशान पान्डे ५ रन र जितेन्द्र ठकुरी १७ रनमा अविजित रहे ।
बलिङतर्फ प्रदेश १ का सुभकर्ण युरोले २ तथा दिपेश कडेलले १ विकेट लिएका थिए ।
त्यस अघि इनरुवा रंगशालामा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २८ ओभरमा १ सय ४४ रनमा अल आउट भएको थियो ।
प्रदेश १ का लागि कप्तान पुष्प थापाले सर्वाधिक ५० रनको योगदान दिएका थिए भने ओपनर ब्याट्सम्यान मिनास थापाले २० रन बनाएका थिए ।
बलिङतर्फ प्रदेश ३ का लागि नन्दन यादवले ४ विकेट लिएका थिए । भने राम नरेश गिरीले २ तथा इशान पान्डे, जितेन्द्र ठकुरी र प्रतिस जिसीले समान १–१ विकेट लिन सफल भए ।
अब प्रतियोगितामा आईतबार एपीएफ र नेपाल पुलिस भिड्ने छन ।