onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

उपाधि जित्न विराटनगरले पायो विशाल लक्ष्य

पोखरा ( अनलाइन खेलखबर ) | अनिल कुमार शाह र रोहन मुस्तफाको अर्धशतकीय ब्याटिङको मद्दतमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग( पीपीएल ) को फाइनल खेलमा चितवन राईनोजले विराटनगर टाईटन्ससामू विशाल चुनौती प्रस्तुत गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राईनोजले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर २ सय २ रन बनाउन सफल भएको छ ।

फाइनल खेलमा विशाल योगफल गराउने क्रममा चितवनका दुई खेलाडीले अर्धशतक पूरा गरे ।

खेलमा ३.२ ओभरमा पहिलो विकेटका रुपमा कप्तान पारस खडकालाई व्यक्तिगत २५ रन गुमाएको चितवनले त्यसपछी दोस्रो विकेटका रुपमा बाबर हायतलाई ५ रनमा गुमाएको थियो ।

त्यसपछी भने टिमले ठुलो साझेदारी पाउने क्रममा अनिल कुमार शाह र रोहन मुस्तफाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेपछि टिम विशाल योगफल तर्फ अग्रसर भएको थियो ।

टिमको ईनिङलाई डोराएका अनिल १५.१ ओभरमा ५० रन बनाएर आउट हुन पुगे । ३४ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै रोहन मुस्तफाले पनि अर्धशतक पूरा गरे । चौथो विकेटका रुपमा पभेलियन फर्किएका रोहनले ४३ बलमा ३ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएका थिए ।

यस्तै टिमका लागि आरिफ शेखले १९ रन तथा सनि पटेलले अविजित रहदै १६ रन र करन केसी पनि अविजित रहदै २६ रनको योगदान गरेका थिए ।

बलिङमा विराटनगरका मोहम्मद जैद आलम र पुनित मेहराले समान २/२ विकेट लिए भने किशोर महतोले पनि १ विकेट हात पारे ।

अब उपाधिका लागि चितवनले दिएको २ सय ३ रनको विजयी चुनौतीलाई पछ्याउँदै विराटनगरले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्