बुटवललाई पराजित गर्दै विराटनगर फाइनलमा

बुटवललाई पराजित गर्दै विराटनगर फाइनलमा

पोखरा ( अनलाइन खेलखबर ) | प्रदीप एरीको नेतृत्वमा रहेको विराटनगर टाईटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा फाइनल प्रवेश गर्न सफल भएको छ ।

बिहिबार भएको प्रतियोगिताको एलिमिनेटर खेलमा बुटबल ब्लाटर्सलाई २१ रनले पराजित गरेसँगै विराटनगर प्रतियोगिताको फाइनल पुग्न सफल भएको हो ।

खेलमा विराटनगरले दिएको १ सय ६६ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर १ सय ४४ रनमा सिमित हुन पुगेपछि खेल विराटनगरले आफ्नो पक्षमा पार्न सफल भयो ।

ठूलो लक्ष्यलाई पछ्याएको भएपनि बुटबलका अफ्ताबूदिन अहमदले ४३ रन र भिम सार्कीले ४४ रन बनाउनु बाहेक अन्य खेलाडीबाट सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम पराजित हुन पुगेको थियो ।

बलिङमा विराटनगरका शाहव आलम र पुनित मेहराले समान ३/३ विकेट लिए भने किशोर महतो , जितेन्द्र मुखिया र मोहम्मद जैद आलमले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो ।

विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६१ रनको योगदान गरेका थिए ।

हर्ष टोकको बलमा भिम सार्कीको हातबाट तेस्रो विकेटका रुपमा आउट हुनअघि उनले ५४ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए ।

सुनिल अघि टिमले पहिलो विकेटका रुपमा मोहम्मद जैद आलमलाई व्यक्तिगत २० रनमा गुमाएको थियो । रन आउट हुन पुगेका उनले १३ बलमा ३ चौका सहित उक्त रन बनाउन सफल भएका थिए ।

त्यसपछी सुनिललाई साथ दिन आएका लोकेशले १९ रन थपे । हर्षको बलमा क्याच आउट हुन पुगेका लोकेशले १९ रन बनाउने क्रममा २ छक्का प्रहार गरेका थिए ।

यस्तै टिमका लागि पुनित मेहराले १९ रन र कप्तान प्रदिप एरीले अविजित रहदै ३३ रन बनाएका थिए ।

बलिङतर्फ बुटवलका हर्ष टोगले २ तथा अभिनाश बोहरा र ललित भण्डारीले समान १/१ विकेट लिएका थिए ।

अब शनिबार हुने फाइनल खेलमा विराटनगरले चितवन राईनोजसँग प्रतिष्पर्दा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *