![सुनिल धमलाको अर्धशतकमा विराटनगरले दियो बुटवललाई ठुलो लक्ष्य](https://onlinekhelkhabar.com/wp-content/uploads/sunil-scaled-e1577348575360.jpg)
सुनिल धमलाको अर्धशतकमा विराटनगरले दियो बुटवललाई ठुलो लक्ष्य
पोखरा ( अनलाइन खेलखबर ) | सुनिल धमलाको अर्धशतकीय ब्याटिङको मद्दतमा विराटनगर टाईटन्सले पोखरा प्रिमियर लिग ( पीपीएल ) को एलीमिनेटर खेलमा बुटवल ब्लाटर्सलाई ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभर पुरै खेल्दैमात्र ५ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको छ ।
विराटनगरका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६१ रनको योगदान गरेका थिए ।
हर्ष टोकको बलमा भिम सार्कीको हातबाट तेस्रो विकेटका रुपमा आउट हुनअघि उनले ५४ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए ।
सुनिल अघि टिमले पहिलो विकेटका रुपमा मोहम्मद जैद आलमलाई व्यक्तिगत २० रनमा गुमाएको थियो । रन आउट हुन पुगेका उनले १३ बलमा ३ चौका सहित उक्त रन बनाउन सफल भएका थिए ।
त्यसपछी सुनिललाई साथ दिन आएका लोकेशले १९ रन थपे । हर्षको बलमा क्याच आउट हुन पुगेका लोकेशले १९ रन बनाउने क्रममा २ छक्का प्रहार गरेका थिए ।
यस्तै टिमका लागि पुनित मेहराले १९ रन र कप्तान प्रदिप एरीले अविजित रहदै ३३ रन बनाएका थिए ।
बलिङतर्फ बुटवलका हर्ष टोगले २ तथा अभिनाश बोहरा र ललित भण्डारीले समान १/१ विकेट लिएका थिए ।
अब विराटनगरले दिएको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै बुटवलले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ । यो खेल जित्ने टिम शनिबार हुने फाइनल खेलमा चितवन राईनोजसँग प्रतिष्पर्दा गर्नेछ ।