बक्सिङ स्वर्ण विजेता नगदसहित सम्मानित
काठमाडौं( अनलाइन खेलखबर ) | हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीहरु नगदसहित सम्मानित भएका छ्न ।
बिहीबार बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई नगदसहित सम्मान गरिएको हो ।
नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए । बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन् ।
सागमा बक्सिङतर्फ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाउन सफल भएका थिए ।
जसअन्तर्गत पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जित्न सफल हुँदा महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् ।
खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो । साथै बक्सिङका रजत र कांस्य पदक विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतको उपस्थितिमा खेलाडीलाई एक कार्यक्रमकाबीच पुरस्कृत गरिएको थियो ।
सम्मान कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा राखेपका सदस्य सचिव रमेश सिलवाल ले पुरस्कार राशीलाई सानो- ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको बताएका थिए ।
‘पुरस्कार राशी सानो होस् वा ठूलो । त्यसको मतलब हुन्न । विदेशमा बसेर पनि आफ्नो लगाव भएको खेलका पदक खेलाडीलाई बस्नेतजी (कुश) ले सम्झिनु भयो । त्यो महत्वपूर्ण कुरा हो ।’ सदस्य–सचिव सिलवालले भने– ‘विदेशमा बस्ने थुप्रै पूर्व खेलाडीहरु हुनुहुन्छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने पुरस्कार राशी पनि ठूलै हुन्छ ।’
सदस्य–सचिव सिलवालले खेलाडीले पाउनु पर्ने सागको पुरस्कार चाँडै दिन आफूले पहल गरिरहेको समेत जानकारी दिएका थिए ।
यस्तै बक्सिङ संघका अध्यक्ष अवालेले खेलाडीलाई पुरस्कार प्रदान गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बक्सिङका रजत र कांस्य विजेतालाई पनि चाँडै पुरस्कार प्रदान गर्ने प्रतिबद्धता समेत गरेका थिए ।