onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

खेलाडीको चाहनामा सिमित प्यूठानको क्रिकेट

टु आर क्षेत्री (प्यूठान )। बल र ब्याटले खेलिने एक लोकप्रिय खेल क्रिकेट । जसको सुरुवात पाचौँ शताब्दिमा भएको मानिए तापनि सन् १६४६ मा बेलायतमा पहिलो पटक क्रिकेट खेल भएको हो ।

नेपालमा भने यसको सुरुवात २० औ शताब्दिमा भएको पाइन्छ । सन् १९२० मा राणाहरु बेलायतबाट पढेर फर्केपछि स्वदेशमा खेल्न थाले पनि सन् १९५२ मा राणा शासनको अन्त्यपछि मात्र क्रिकेट साधारण जनता समक्ष पुग्न सफल भएको इतिहास रहेको पाईन्छ ।

धेरै पछि मात्र नेपालमा क्रिकेटको सुरुवात भएता पनि पछिल्लो समय नेपाली क्रिक्रेटले धेरै फट्को मारेको छ । क्रिकेट नेपाललाई बिश्वमा चिनाउन माध्यम बनिरहेको अवस्था छ । यद्यपी विभिन्ना कारणले गर्दा अझै नेपाली क्रिक्रेटले सोचे जस्तो सफलता पाउन सकेको छैन ।

घर वलियो हुनको लागि जग बलियो हुनुपर्छ भनेझै नेपाली क्रिकेटको अवस्था सुधार गर्नको लागि स्थानिय स्तरमा क्रिकेट प्रतियोगिता आयोजना तथा क्रिकेटमा लगानी हुनुपर्दछ । जुन आवश्यक मात्रामा हुन सकेको छैन ।

ति मध्येको एक प्यूठान जिल्ला हो । जुन राष्ट्रिय स्तरमा खेलकुद मै खासै प्रतिनिधित्व गर्न सकेको छैन । स्थानिय स्तरमा प्रतियोगिता हुन नसक्नु, खेलाडीलाइ खेलप्रति प्रोत्साहन गर्न नसक्नु, सम्वन्धित निकायले खेलप्रति ध्यान नदिनु यस्को मुख्य कारण मानिन्छ ।

क्रिकेटको अभिभावकको रुपमा रहेको नेपाल क्रिकेट संघ क्यानमा जिल्ला दर्ता हुन नसक्दा पनि क्यानले सञ्चालन गरेका प्रतियोगितामा जिल्लाले सहभागिता जनाउनबाट वञ्चित हुन पुगेको छ । यस्तै खेलकुदको अभिभावकको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषदको जिल्ला शाखा जिल्ला खेलकुद विकास समिति पनि अहिले प्यूठानमा नेतृत्व विहिन रहेको छ । अघिल्लो साउनमा कार्यकाल सकिएपछि अहिलेसम्म नयाँ नेतृत्व पाउन सकेको छैन । आफै नै नेतृत्व विहिन समितिसँग के अपेक्षा राख्न सकिन्छ र ? हामी यति मात्र कामना गरौ छिट्टै नै जिल्लामा जिल्ला खेलकुद विकास समितिले नयाँ नेतृत्व पाओस् ।

देश संघिय संरचना गइसकेको छ । धेरै जसो अधिकार स्थानिय तहले पाएको छ । तसर्थ क्रिकेट विकास र विस्तार गर्नु स्थानिय तहको पनि जिम्मेवार हो । यसमा प्यूठानका स्थानिय तहहरु बेखबर जस्तै छन् । जिल्लाका धेरै जसो पालिकाहरुमा खेलकुद विकास समिति नै गठन भएका छैनन् । गठन भएका पालिकामा पनि खेलकुद विकास समितिले ठोस निर्णय लिन र कदम चाल्न सकेको देखिदैन । पालिकाहरुले खेलाडी उत्पादन गर्ने कुनै योजना बनाएको देखिदैन । स्थानिय तहहरुले जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरेको जिल्ला खेलकुद विकास समिति प्यूठानको गुनासो छ ।

जिल्ला हाल क्रिकेट क्लव विहिन रहेको छ । नियमित रुपमा क्रिकेट गतिविधि सञ्चालन हुन नसक्दा जिल्लामा क्रिकेट क्लव दर्ता हुन नसकेको हो । आगामी दिनमा क्रिकेटमा स्थानिय तहको लगानी र नियमित प्रतियोगिता हुन सकेमा क्लव दर्ता हुने आकलन गरिन्छ ।

प्रदेश सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण गरिएका खेल मैदान पनि अहिले प्रयोगविहीन छन् । खेलाडीहरुलाई पायक नपर्ने स्थानमा खेलमैदान निर्माण गरिनु र क्रिकेटप्रति स्थानिय तहले उचित बजेट नछुट्याउनु यसको मुख्य कारण देखिएको छ । भौगोलिक विकटता त्यसमा पनि खर्चिलो खेल क्रिकेटमा सरकारी निकायले लगानी नगर्नुले पनि प्यूठानमा क्रिकेट खेल्नेको संख्या घट्न गएको बुझाइ छ । स्थानिय तहले क्रिकेट प्रति चासो नदिदा परिवारले पनि साथ नदिने गरेको खेलाडीहरु गुनासो गर्दै आएका छन् ।

क्रिकेट क्षेत्रको लागि स्थानीय तहबाट आवश्यक बजेट छुट्टाउन नसक्दा प्यूठानमा क्रिकेटको विकास हुन नसकेको स्थानिय खेलाडी मदन पुनमगरले बताए । क्रिकेट एउटा पसलको अगाडिको बेञ्चमा बसेर खेलिने खेल हैन । जिल्लामा सुविधायुक्त एउटा पनि क्रिकेट मैदान छैन । उनले भने “जबसम्म जिल्लामा सुविधायुक्त क्रिकेट मैदान बन्न सक्दैन र सरकारको लगानी हुदैन तवसम्म क्रिकेट र खेलाडिको स्तर माथि उठ्न सक्दैन ।” खेलाडी खाली एक्लै धाएर जिल्ला क्रिकेटको विकास नहुने भन्दै यसको लागि सम्बन्धित निकायले पनि विशेष ध्यान दिन समेत उनले आग्रह गरे ।

स्थानिय स्तरबाट नै क्रिकेट बिकास र विस्तारमा योगदान दिने उदेश्यले गठन गरिएको नेपाल क्रिकेट समर्थक समाज (एनसिएसएस) जिल्ला समन्वय समिति प्यूठान भने हाम्रो जिम्मेबारी भनेको प्रतियोगिता आयोजनाका लागि शान्तिपुर्ण रुपले दबाब दिनु तथा समन्वय सहकार्य गर्ने भएकाले आफुहरु आफ्नो जिम्मेवारी पुरा गर्न लागि पर्ने बताउछ । “हामी सधै प्यूठानको क्रिकेट विकास र विस्तारमा लाग्नेछौ” एनसिएसएस प्यूठानको संयोजकको कथन रहेको छ ।

जिल्लामा खेलाडीहरु उत्पादन भए पनि दिर्घकालिन हुन नसक्दा जिल्लाको क्रिकेटको अवस्था सुधार हुन नसकेको मदन भण्डारी स्पोटर्स एकेडेमिका केन्द्रिय सदस्य विनोद ओलिले बताए । जिल्ला नेपाल क्रिकेट संघ (क्यान)मा दर्ता हुन नसक्दा जिल्लाको क्रिकेटको अवस्था जिल्ला भन्दा माथि उठ्न नसकेको उनको जिकिर छ । क्रिकेट खेलका लागि ठुलो मैदान चाहिन्छ, पर्याप्त मात्रामा खेलकुद मैदान नहुदा पनि प्यूठानको क्रिकेट पछि परेको देखिन्छ । “हिजो विद्यालय र केहि सिमित क्षेत्रमा मात्र ठुला चौरहरु देख्न पाइन्थ्यो अहिले स्थानिय तहहरुमा मैदान निमार्णको कार्य जारी भएकाले अव प्यूठानको क्रिकेट क्षेत्रले पनि फड्को मार्ने आस गर्न सकिन्छ ।” जिल्लाको क्रिकेट विकास, खेलाडीको मनोवल उचाईमा पुराउन मदन भण्डारी स्पोटर्स एकेडेमीले निरन्तर योगदान गर्दै आएको र आगामी दिनमा पनि खेल र खेलाडिहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने केन्द्रिय सदस्य ओलिको भनाई छ ।

टेनिस बलमा निर्भर, कमजोर पुर्वधार र आर्थिक समस्या, स्तरिय खेलकुद सामाग्री, नेतृत्व गर्ने ब्यक्ति नहुदा प्यूठानको क्रिकेट जिल्लाभन्दा माथि उठ्न नसकेको हाम्रो खेलकुद डट कममा कार्यरत खेल पत्रकार भुपेन्द्र जि सीको धारणा रहेको छ । जिल्लावासी समेत रहेका उनले ड्युज बल र टेनिसमा आकाश पातलको फरक छ । त्यसैले ड्युज बलको सुरुवात गर्न निकै आवश्यक देखिन्छ । उनले भने “स्थानिय तहले खेलकुद सामग्रीमा मात्र सहयोग गर्ने हो भने पनि धेरै सहयोग मिल्ने थियो ।” स्थानिय तहको विकास र प्रर्वद्धनमा पनि क्रिकेटले ठूलो योगदान पुर्याउने समेत उनले बताए ।

प्यूठान जिल्लाको मुख्य विशेषता भनेको खेलाडीमा क्रिकेट प्रतिको अत्याधिक रुचि, मोह र त्याग हो तर हामी सदुपयोग गर्न सकेका छैनौं । प्यूठानका खेलाडीले ड्युज बल खेल्ने सामग्री र स्तरीय मैदान पाउने हो भने आगामी दुई तीन वर्षमै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न सक्छन् । संभावना औल्याउदै जि.सीले भने , “अहिले प्यूठानमा जति पनि क्रिकेट खेलिरहेका छन् ती सबै रहरले खेलेका छन् । ती रहरलाई ब्यावसायिक र भविष्य बनाउनतर्फ लाग्ने हो भने चाडैं फड्को मार्ने देखिन्छ ।”

टु आर क्षेत्री प्यूठानलाई केन्द्रित गरेर विगत केहि वर्ष देखि पत्रकारितामा सक्रिय छन्

प्रतिक्रिया दिनुहोस्