onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट कोहलीको कप्तानी पारीमा वेस्ट ईण्डिजमाथि भारतको सहज जित

काठमाडौं ( अनलाइन खेलखबर ) | कप्तान विराट कोहली र लोकेश राहुलको उत्कृष्ट ब्याटिङको मद्दतमा भारतले भारत भ्रमणमा रहेको वेस्ट ईण्डिजलाई पहिलो टि – ट्वान्टी खेलमा ६ विकेटले पराजित गर्न सफल भएको छ ।

खेलमा बिशाल २ सय ८ रनको विजयी चुनौती पछ्याएको भएपनी भारतले शानदार ब्याटिङ गर्दै त्यो बिशाल योगफललाई १८.४ ओभरमा मात्र ४ विकेटको पतनमा सहज तरिकाले पूरा गर्न सफल भयो ।

ठुलो लक्ष्य पछ्याएको भारतको सुरुवात भने खल्लो हुन पुग्यो । टिमका भरपर्दा अनुभवी ओपनर ब्याट्सम्यानलाई टिमले सस्तैमा गुमायो ।

३.२ ओभरमा टिमको स्कोर ३० रन हुँदा रोहित शर्मा ब्यक्तिगत ८ रनमा क्याच आउट हुन पुगेका थिए । जसमा उनले १० बलको सामना गर्दै १ चौका भने प्रहार गरे ।

त्यसपछि टिमलाई लोकेश राहुल र कप्तान विराट कोहलीले सम्हाले जसमा यि दुईबीच दोस्रो विकेटका लागी शतकीय साझेदारी हुन पुग्दा टिमलाई ठुलो राहत पुगेको थियो ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका लोकेश राहुलले टिमलाई ठोस सुरुवात दिने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्रममा ४० बलमा ५ चौका र ४ छ्क्काको मद्दतमा ६२ रनको योगदान दिएका थिए ।

१३.३ ओभरमा टिमको स्कोर १ सय ३० रन हुँदा आफ्नो विकेट गुमाएका लोकेश पोलार्डको हातबाट क्याच आउट हुन पुगेका थिए ।

लोकेश आउट पछि विराट कोहलीलाई रिषभ पन्तले साथ दिए । तर उनले भने राम्रो पारी खेल्न सकेनन उनि ब्यक्तिगत १८ रनमा आउट हुन पुगे ।

रिषभ पछि मैदानमा आएका श्रेयस अय्यरले विराटलाई साथ दिदै ४ रन बनाए भने खेलका नायक विराट कोहली ९४ रनमा अबिहित रहँदा टिमले ठुलो लक्ष्यलाई सहज तरिकाले पूरा गर्न सफल भयो ।

विराटले टिमलाई जिताउँन उल्लेख्य भूमिका निर्वाह गर्ने क्रममा ५० बलको सामना गर्दै ५ चौका र ५ छ्क्का प्रहार गरेका थिए ।

बलिङतर्फ वेस्ट इण्डिजका खारी पियरेले २ तथा शेल्डन कॉटरेल र पोलार्डले समान १ विकेट हात पारे ।

त्यसअघि हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली वेस्ट ईण्डिजले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा २ सय ७ रन बनाएको थियो ।

वेस्ट ईण्डिजका लागि शिमरोन हेटिमर र किरोन पोलार्डले महत्वपूर्ण पारी खेले । यि दुई बिच चौथो विकेटका लागी ७१ रनको साझेदारी हुन पुगेपछि टिम ठुलो योगफलतर्फ अग्रसर भएको थियो ।

चौथो विकेटका रुपमा पभेलियन फर्किएका शिमरोनले अर्धशतकिय पारी खेले । ४१ बलको सामना गरेका उनले २ चौका र ४ छ्क्काको मद्द्तमा ५६ रनको योगदान गरे ।

यस्तै पोलार्डले ३७ रन बनाए । त्यसअघि ईभिन लुईसले पनि ४० रनको योगदान गरेका थिए । भने ब्राडेन किगले ३१ रनको पारी खेलेका थिए ।

यस्तै अन्त्यतिर अबिजित रहेका होल्डरले २४ तथा दिनेश रामदिनले ११ रन जोडेपछि वेस्ट ईण्डिजले भारतसामु बिशाल योगफल खडा गरेको हो ।

बलिङतर्फ भारतका युजभेन्द्र चाहरले २ तथा वासिङटन सुन्दर ,दिपक चाहर र रविन्द्र जडेजाले समान १/१ विकेट हात पारे ।

भारत भ्रमणमा रहेको वेस्ट ईण्डिज र भारतबीचको ३ टि – ट्वान्टी र ३ नै एकदिवसिय खेल हुनेछ । अब दोस्रो टि – ट्वान्टी खेल आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्