onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपको टिम कर्नाटाकाको विजयी सुरुवात

काठमाडौं( अनलाइन खेलखबर ) | नेपालका युवा खेलाडी सन्दिप लामिछानेको टिम कर्नाटाका टस्कर्सले युएईमा जारी टि -१० लिगमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको आफ्नो पहिलो खेलमा जित हासिल गर्ने क्रममा कर्नाटाकाले दिल्ली वुल्सलाई १९ रनले पराजित गरेको छ ।

खेलमा कर्नाटाका ले दिएको १ सय ११ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित १० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा ९१ रनमा सिमित हुन पुगेपछि खेल कर्नाटाकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

दिल्लिका लागी कप्तान इयोन मॉर्गन २१ तथा एंजेलो मैथ्यूजले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा टिम पराजित हुन पुगेको छ ।

बलिङतर्फ नाथन रिमिंगटनले ३ तथा अहमद राजाले र पैट्रिक ब्राउनले समान २/२ विकेट लिए भने सन्दिप लामिछानेको नाममा पनि एक विकेट रहयो ।

सन्दिपले आफ्नो स्पेलको २ ओभर पुरै खेल्दै १९ रन खर्चिएर १ विकेट लिएका थिए । उनले मोहम्मद उसमानलाई आउट गरेका थिए ।

त्यसअघि शेख सायद स्टेडियम आबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटाकाले निर्धारित १० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

दोस्रो ओभरको तेस्रो बलमा टिमको स्कोर १२ रन हुँदा ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान हासिम अमलालाई ब्यक्तिगत ६ रनमा गुमाएको कर्नाटकले दोस्रो विकेटका रुपमा जॉनसन चार्ल्सलाई १३ रनमा गुमाएको थियो ।


यस्तै टिमका लागी सर्बाधिक धेरै रन बनाएका उपुल थरंगाले ४८ रनको योगदान गरे भने शफीकुल्ला शफीकले पनि ३४ रन जोडे ।

बलिङतर्फ दिल्लीका रबि रामपलले २ तथा डेविड विली र दुशमंथा चमीराले समान १/ १ विकेट हात पारे ।

अब कार्नाटाकाले आफ्नो दोस्रो खेल आउँदो आईतबार बंगला टाईगर्ससँग खेल्नेछ ।खेल नेपाली समय अनुसार बेलुका साढे ७ बजेपछी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्