आज राजस्थानले हैदराबादको सामना गर्दै : राजस्थानलाई जित्नै पर्ने दबाब
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत आज आईतबार दिनको पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स आमने – सामने हुँदैछन् ।
नेपाली समय अनुसार दिउँसो पौने ४ बजेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा राजस्थान तेस्रो जितको खोजिमा रहने छ ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको राजस्थानले २ खेल जित्दा ४ खेल गुमाएको छ । र अहिले ४ अंकसहित अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
राजस्थानले प्रतियोगिताको सुरुवाती दुई खेल जितेको थियो भने त्यसपछि सबै खेल गुमाएको छ ।
यता आज राजस्थानको सामना गर्न लागेको हैदराबादको पनि प्रतियोगितामा त्यति सन्तोषजनक प्रदर्शन भईरहेको छैन ।
हालसम्म ६ खेल खेलेको हैदाराबादले ३ मा जित र ३ खेलमा हार ब्यहोर्दै ६ अंकसहित अहिले अंकतालिकाको पाँचौ स्थानमा रहेको छ ।
यस्तोमा आज हुने खेलमा राजस्थानलाई जित्नै पर्ने दबाबमा रहेको छ । प्रतियोगिताको प्ले अफ सम्भावना जिवितै राख्ने हो भने राजस्थानलाई अबका खेलहरु उत्तिकै महत्वपूर्ण रहेको छ ।
तसर्थ राजस्थान सोही रणनीतिका साथ मैदानमा उत्रिने छ । यता अघिल्लो खेलमा पन्जावलाई ६९ रनले पराजित गरेको हैदराबाद पनि आफ्नो लयलाई यथावत राख्न चाहन्छ ।