गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा भरतपुर महानगरको ५० लाख सहयोग

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा भरतपुर महानगरको ५० लाख सहयोग

काठमाडौं (अनलाइन खेल खबर )।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

रंगशालाका लागि महानगरपालिकाले ४ करोड बजेट विनियोजित गरेको छ । त्यस क्रममा यो ५० लाख पहिलो चरण अन्तर्गत प्रदान गरिएको नगर प्रमुख रेनु दाहालले बताइन् । र बाँकी विनियोजित रकम महानगरपालिकाले क्रमश: प्रदान गर्ने उल्लेख गरेको छ ।

राष्ट्रको गौरवको परियोजनाको रुपमा रहेको यस आयोजनालाई चितवन महानगरपालिकाले पनि आफ्नो क्षेत्रको प्रतिष्ठा र चिनारीको रुपमा समेत लिएको छ ।

ब्यक्तिगत रुपमा पनि महानगरपालिका प्रमुख रेनु दाहालले रंगशाला निर्माण कार्यमा सुरुवाती अवस्था देखिनै अग्रसरता देखाएकी थिइन् । रंगशालाको महत्त्व बुझेर उनले धुर्मुस सुन्तली फाउन्डेसनलाई सुरुवात देखिनै सक्दो साथ र सहयोग पुर्याउदै आएकी छिन् ।

यता पहिलो चरणमा ५० लाख धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेपछि रेनुले सन्तोषजनक रुपमा रंगशाला निर्माण कार्य अघि बढेकोमा फाउन्डेसनलाई धन्यवाद दिएकी थिइन् ।

यस्तै महानगरपालिकाबाट प्राप्त रकमले आफूहरुमा थप हौसला र उर्जा मिलेको धुर्मुसले बताएका छन् । यस सहयोगले गर्दा अझ निर्णाण कार्यले थप गति लिने धुर्मुसको विश्वास रहेको छ ।