onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

माछापुच्छ्रे क्रिकेट लिगको पहिलो च्याम्पियनबाट बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

काठमाडौं ( अनलाइन खेल खबर ) । पोखरामा आयोजना हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) को पहिलो संस्करणको विजेता लायन्स क्लब अफ पोखरा डाउन टाउनले बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६,७,र ८ का बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।

भदौ १७ गतेका दिन अवीरल वर्षासँगै आएको बाढीपहिरोले त्यस क्षेत्रमा पुर्याएको क्षतिलाई मध्यनजर गर्दै क्लबले आर्थिक सहयोग गरेको हो ।

क्लबले मंगलबार एक कार्यक्रम गरी ५६ हजार रुपैयाँ पीडितका प्रतिनिधि धमबहादुर बुढा मगरलाई क्लबका अध्यक्ष रेशमबहादुर केसी र प्रमुख अतिथि रामबहादुर बस्यालले हस्तान्तरण गरेका थिए ।

पोखरास्थित इन्द्रेणी एकीकृत विकास केन्द्रको सभाहलमा भएको उक्त हस्तान्तरण कार्यक्रम कोरोना भाइरस ( कोभिड -१९ ) को सुरक्षा मापदण्ड अनुरुपनै भएको थियो ।

सामाजिक कार्यमा क्रियासिल क्लबले आफ्नो नियमित कामसँगै खेलकुदमा समेत विशेष भूमिका निर्वाह गर्दै आएको छ । जस अनुरुप क्लबको विभिन्न प्रतियोगितामा समेत सहभागी हुँदै आएको छ ।

त्यसक्रममा यस क्लबले सन् २०१७ मा पोखरामा राम्रो क्रिकेट प्रतियोगिताको रुपमा लिईने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) को उपाधि समेत उचालेको थियो । प्रतियोगितामा पहिलो च्याम्पियन बन्ने क्रममा क्लबले फाइनलमा पर्वत टाइटन्सलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्