onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लिग चरणको अन्तिम खेलमा पनि जमैका पराजित : सन्दीपको नाममा एक विकेट

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपीएल ) अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालका युवा क्रिकेटर सम्मलित जमैका तल्लावाज पराजित हुन् पुगेको छ ।

गएराति भएको खेलमा जमैका सेन्ट लुसियासँग ११ रनले पराजित हुने भएको छ ।

खेलमा सेन्ट लुसियाले दिएको १ सय ४६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको जमैका २० ओभर पूरै खेलेपनि ९ विकेट गुमाएर १ सय ३४ रनमा सिमित हुन् पुगेपछि खेल सेन्ट लुसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

जारी प्रतियोगितामा ब्याटिङमा चुक्दै आएको जमैकाका लागि यो खेल पनि त्यस्तै रहयो । मध्यम चुनौतीलाई पछ्याएको भएपनि चुनौतीलाई पार गर्न सकेन ।

उसका लागि ओपनर तथा विकेट किपर ब्याट्सम्यान ग्लेन फिलिप्सले सर्वाधिक ४९ रनको पारी खेलेका थिए । ३६ बलको सामना गरेका उनले ४ चौका र १ छ्क्कासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि निकोलस किर्टन र जर्मेन ब्लैकवुडले समान २५/२५ रन तथा चाडविक वाल्टनले १० रन बनाए । यी बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङतर्फ सेन्ट लुसियाका जाहिर खान र जेवेल ग्लेनले समान ३/३ विकेट लिए । भने केसरिक विलियम्सले १ विकेट लिएका थिए ।

त्यसअघि ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर सेन्ट लुसियाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

सेन्ट लुसियाले उक्त रन बनाउने क्रममा उसका लागि नजिबुल्ला जार्दनले सर्वाधिक ३५ रनको योगदान गरेका थिए । यस्तै रहकेम कॉर्नवालले ३२ रन तथा रोस्टन चेसले पनि अविजित रहदै ३२ रन बनाएका थिए ।

बलिङतर्फ जमैकाका मुजिव उर रहमानले २ तथा फिदेल एडवर्ड्स,वीरासम्मी पर्मुल,कार्लोस ब्रैथवेट र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै १ ओभर मेडन राख्दै मात्र २० रन खर्चिएर उक्त विकेट लिएका थिए ।यो सँगै उनले जारी प्रतियोगितामा आफ्नो विकेट सङ्ख्या १२ पुर्याएका छन् ।

यो खेलसँगै सिपीएलको लिग चरणका सबै खेल सकिएका छन् । जसअन्तर्गत पहिलो स्थानमा २० अंकका साथ अपराजित रहदै आएको त्रिनबागो नाइट राईडर्स रहयो । भने १२ अंकसहित गुयाना अमेजन वारियर्स दोस्रो स्थानमा रहयो । भने गुयानासँग समान अंक भएपनि सेन्ट लुसिया नेट रनरेटमा पछि पर्दै तेस्रो स्थानमा र जमैका ७ अंकसहित चौथों स्थानमा रहयो । बार्बोडोस र सेन्ट किट्स भने लिग चरणबाटै बाहिरिएका छन् ।

अब प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जमैकाले नाइट राईडर्ससँ मंगलबार खेल्नेछ । जुन खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि हुनेछ । यता गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया बीचको दोस्रो सेमिफाइनल खेल भने बुधबार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्