onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

हरभजनले आईपीएल नखेल्ने पक्का

एजेन्सी । भारतका अनुभवी स्पिनर हरभजन सिंहले पनि यहीँ सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिख सम्म युएईमा हुन् गईरहेको १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) नखेल्ने भएका छन् ।

गत संस्करणको उप विजेता समेत रहेको चेन्नई सुपर किंग्समा आवद्ध उनले शुक्रबार पारिवारिक कारण देखाउँदै यस संस्करणमा आफू उपलब्ध नहुने बताएका छन् ।

यसअघि चेन्नईका अर्का अनुभवी खेलाडी सुरेश रैना पनि पारिवारिक कारण देखाउँदै यस संस्करण नखेल्ने बताएका थिए । आईपीएलको पहिलो संस्करणबाट खेल्दै आएका हरभजन आईपीएलमा सर्वाधिक धेरै विकेट लिने सूचीको तेस्रो स्थानमा रहेका छन् । हालसम्म आईपीएलमा १ सय ६० खेल खेलेका उनले १ सय ५० विकेट लिएका छन् ।

यस सूचीको पहिलो स्थानमा १ सय ७० विकेट सहित श्रीलंकाका लसिथ मलिङ्गा रहेका छन् ।डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्समा आवद्ध मलिङ्गाले पनि यस संस्करणको आईपीएल नखेल्ने बताईसकेका छन् । दोस्रो स्थानमा दिल्लीका अमित मिस्रा रहेका छन् । उनले अहिलेसम्म १ सय ५७ विकेट लिएका छन् ।

यता अनुभवी खेलाडीको रुपमा हरभजनको अनुपस्थित चेन्नईका लागि पक्कै पनि खड्किने छ । तर त्यति धेरै फरक भने पर्ने देखिदैन । ४० वर्षीय हरभजनको करियर अब फेन्चाइज लिगमा पनि अन्तिम अन्तिम तिर रहेको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको तीन पटकको च्याम्पियन चेन्नई यसपटक पनि च्याम्पियन बन्ने लक्ष्यसहित युएई पुगेको छ । कोरोना भाइरस (कोभिड-१९ ) का कारण प्रतियोगिता सुरु हुनु भन्दा अगस्टमै युएई पुगेको चेन्नई युएईमा संकटमा परेको थियो ।

टोलीमा रहेका एक खेलाडी र अन्य अफिसियललाई यस बीचमा कोरोना सक्रमण देखिएको थियो । अहिले भने सबै रिकभर भईसकिएको बताईएको छ । यस्तोमा सक्रमित बाहेक अन्यले आफ्नो तयारी स्वरुप मैदानमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्