onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी- ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।

आईतबार राति भएको खेलमा इंग्ल्यान्डले जित हासिल गर्ने क्रममा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।

खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले उक्त चुनौतीलाई १९.१ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

ठूलो लक्ष्यलाई पछ्याएको इंग्ल्यान्डले जित हासिल गर्ने क्रममा सुरुवात पनि राम्रो पाएको थियो ।

ओपनर ब्याट्सम्यानद्वय टम ब्यान्टन र जोनी बेयरस्टोले टिमलाई ठोस सुरुवात दिने क्रममा ६६ रनको ओपनिङ साझेदारी गर्न पुगेका थिए । ६.२ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका बेयरस्टोले टिमका लागि ४४ रनको योगदान गरेका थिए । उनि शादव खानको बलमा आउट हुन् पुगेका थिए ।

त्यसपछि शादवले नै अर्का ओपनर ब्यान्टनलाई बेयरस्टो आउट भएपछि अर्को बलमा एलबिड्ब्लुको सिकार बनाएका थिए । १६ बलको सामना गरेका उनले २० रन जोडे ।

त्यसपछि डेविड मालन र कप्तान इयोन मोर्गनले टोलीलाई जिततर्फ डोराए । जसमा मोर्गनले सर्वाधिक ठूलो पारी खेले ।३३ बलको सामना गरेका उनले ६ चौका र ४ छ्क्कासहित ६६ रन बनाए भने मालनले अविजित रहदै ५४ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका शादव खानले ३ तथा हरिस रउफले २ विकेट लिएका थिए । त्यसअघि म्यानचेस्टरस्थित एमिरेट्स ट्राफर्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

खेलमा पाकिस्तानले सुरुवातबाटै राम्रो ब्याटिङ गरेको थियो । उसका लागि ओपनरद्वय बाबर आजम र फखर जमानले ७३ रनको ओपनिङ साझेदारी गरेका थिए ।

८.३ ओभरमा पहिलो विकेटका रुपमा पभेलियन फर्किएका फखर जमानले आदिल रासिदको बलमा क्याच आउट हुनुअघि २२ बलको सामना गर्दै ५ चौका र १ छ्क्कासहित ३५ रन बनाएका थिए ।

त्यसपछि टिमका कप्तान समेत रहेका अर्का ओपनर ब्याट्सम्यान १२.४ ओभरमा टिमको स्कोर १ सय १२ रन हुँदा दोस्रो विकेटका रुपमा आउट हुन पुगे । ४४ बलको सामना गरेका उनले ५ चौकासहित ५६ रनको योगदान गरेका थिए । उनि पनि आदिल राशिदको बलमानै क्याच आउट हुन् पुगेका थिए ।

ओपनरले ठोस सुरुवात दिलाएको खेलमा त्यसपछि टिमको पारीलाई मोहम्मद हफिज र शोएब मलिकले अगाडि बढाएका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ५० रनको साझेदारी हुन् पुगेको थियो ।

१६. ३ ओभरमा टिमको स्कोर १ सय ६२ रन हुँदा क्रिस जोर्डनको बलमा कप्तान इयोन मोर्गनको हातबाट क्याच आउट हुँदै मलिक १४ रन बनाएर पभेलियन फर्किएका थिए ।

मलिक आउट भएपछि हफिजलाई साथ दिन इफ्तिखार अहमद मैदानमा आएका थिए ।त्यस क्रममा हफिजले इनिङमा सर्वाधिक धेरै रन बनाउने क्रममा ६९ रन बनाएका थिए ।

टम कुरानको बलमा आउट हुनुअघि उनले ३६ बलको सामना गर्दै उक्त रन बनाउने क्रममा ५ चौका र ४ छ्क्का प्रहार गरे । भने अहमद ८ रनमा अविजित रहे ।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुन् पुगेको हो । अब सिरिजको अन्तिम खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्