onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बक्सिङ खेलाडीको पनि भयो कोरोना बीमा

काठमाडौं (अनलाइन खेल खबर ) । हाल स्वास्थ्य संकटको रुपमा देखा परिरहेको कोरोना भाइरस (कोभिड -१९)लाई मध्यनजरमा राख्दै बक्सिङ खेलाडीको पनि बीमा गरिएको छ ।

जसमध्य अघिल्लो वर्ष मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडी २ जना प्रशिक्षकको कोरोना बीमा गरिएको छ ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले आफ्नो ब्यक्तिगत खर्चबाट खेलाडी र प्रशिक्षकको बीमा गराईदिएका हुन् ।

१३औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

जसमा नेपालले  तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए ।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए ।

१३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए ।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बीमा गरिएको छ ।
कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए । यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्