onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिपीएलमा सन्दीप : विगतको मिठो प्रभाव वर्तमानमा दोर्याउन तयार

काठमाडौं (अनलाइन खेल खबर ) । नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने अगस्ट १८ देखि सुरु हुन् गईरहेको क्यारेवियन प्रिमियर लिग (सिपीएल ) मा यसपटक जमैका तलावाजबाट खेल्दैछन् ।

सन् २०१८ मा पहिलोपटक सिपीएलमा अनुबन्धित भएका सन्दीपको यो सँगै उनको यो लगातार तेस्रो संस्करण हो ।

कोरोना भाइरस ( कोभिड(१९ ) का कारण लामो समय क्रिकेट गतिविधि रोकिएको भएता पनि अहिले क्रमशः फर्किने क्रममा छ । जस अन्तर्गत अहिले विभिन्न देशको खेल तालिका समेत सार्वजनिक भएका छन् र हुने क्रममा पनि रहेको छ । हाल इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको टेष्ट सिरिज जारी रहेको छ ।

यस्तोमा लामो समयको अन्तरालपछि फर्किएको क्रिकेटमा फेन्चाइज क्रिकेटको हकमा यो स्तरको सिपीएल पहिलो प्रतियोगिता बनेको छ । भाइरसका कारण लामो समय मैदानबाट बाहिर स्वदेशमा रहेका सन्दीप सिपीएलका लागि अहिले उत्साहित पनि देखिन्छन् ।

लगातार तेस्रो संस्करण खेल्न तयार रहेका सन्दीपको सुरुवाती अवस्था र वर्तमान अवस्थामा आर्थिकका हिसाबले पनि ठूलो परिवर्तन छ । ५ हजार अमेरिन डलरमा पहिलो संस्करण सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका सन्दीप दोस्रो संस्करणमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । त्यस क्रममा उनलाई टिमले ७० हजार अमेरिकन डलरमा अनुबन्धित गरेको थियो । र हाल उनि जमैकाबाट खेल्दैछन् । ड्राफ्टमार्फत छनोट भएका उनले न्युनतम ९० हजार अमेरिकन डलर प्राप्त गर्नेछन् ।

यसअघि सन्दीपलाई आफ्नो प्रतिभा प्रमाणित गराउन पनि सिपीएलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सन् २०१८ मा पहिलोपटक ईन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलेका सन्दीपको त्यसपछि अन्तर्राष्ट्रिय फेन्चाईज लिगहरुको बाटो खुलेका थिए ।

आईपीएलमा सुरुवाती अवस्थामा सन्दीपले मौका पाएका थिएनन् । जब उनको टिम दिल्ली प्ले अफ चरणमा पुग्न असफल रहयो । दिल्लीलाई गुमाउनु पर्ने केहि थिएन । त्यसपछि उनले अन्तिमका तिन खेलमा लगातार स्थान बनाए । र प्रदर्शनका हिसाबले पनि उनको तारिफयोग्य रहेको थियो । पाएको मौकालाई उनले खेर जान दिएनन् टिमसँगै सबैको मन जित्न उनि सफल भएका थिए ।

आईपिएल जस्तो त्यो माध्यममा उनले गरेको त्यो सानदार प्रदर्शनले गर्दा यसपछि भने सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेटमा एक पछि अर्को सफलता हात पार्दै अघि बढेका छन् ।

आईपीएलमा राम्रो प्रदर्शनका कारण सिपीएलमा उनलाई धेरै सजिलो भयो । अझ भन्ने हो भने सिपिएल उनलाई प्रमाणित गर्ने अर्को एउटा माध्यम बनेको थियो । त्यसको फलस्वरुप उनलाई टिमले सुरुवाती अवस्था देखीनै विश्वास गरेको थिए ।

सिपीएलको पहिलो संस्करंणमा क्रिस गेलको कप्तानीमा रहेको सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका उनले ५ खेल खेल्दै ७ विकेट लिएका थिए । जस अन्तर्गत आफ्नो पहिलो गुयाना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २ विकेट लिएका थिए । त्यसपछि ट्रिनबागो नाइट राइडर्सविरुद्ध १ विकेट , जमैकाविरुद्ध २ विकेट , सेन्ट लुसियाविरुद्ध २ विकेट र आफ्नो अन्तिम खेल जुन जमैकासँग भएको थियो। त्यस खेलमा भने उनि विकेट विहिन रहेका थिए र टिम प्ले अफ सम्मको यात्रा तय गरेको थियो ।

सुरुवाती ५ खेल खेलेर उनि मलेसियामा भएको एसीया कप छनोटका लागि राष्ट्रिय टोलीसँग जोडिएका थिए । त्यसपछि दोस्रो सिजनमा
जेसन होल्डरको कप्तानीमा रहेको बार्बाडोस पुगेका उनले ६ खेलबाट कुल ८ विकेट लिएका थिए । जसमा उनको पहिलो खेल गुयाना अमेजन वारियर्ससँग रहेको थियो। जसमा उनले मात्र १ ओभर बलिङ गर्दै विकेट विहिन रहेका थिए। भने दोस्रो खेलमा उनले सेन्ट किट्सविरुद्व ३ विकेट हात पारेका थिए।

यस्तै जमैका ,सेन्ट लुसिया र ,गुयाना अमेजनविरुद्वको खेलमा उनले समान १/१ विकेट लिएका थिए । भने आफ्नो अन्तिम खेलमा जमैकासँग सन्दीपले २ विकेट चट्काएका थिए । त्यसपछि उनि राष्ट्रिय टिमसँग सिंगापुर र ओमान भ्रमणमा जोडिएका थिए। तर टिमले भने उपाधि उचालेको थियो।

यसरी सिपीएलमा राम्रो प्रभाव छोड्न सफल सन्दीप यसपटक भने पूरा समय टिमका लागि उपलब्ध हुनेछन्। तर हाल स्वदेशमा रहेका सन्दीपलाई लकडाउनका कारण त्यहाँ पुग्न कठिन भने देखिएको छ । सिपीएल पछि उनको अर्को गन्तव्य आईपीएल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्