onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुल विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेपछि लिग च्याम्पियन बनि सकेको लिभरपुलले ब्राईटनलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले ब्राईटनलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई तथा कप्तान जोर्डन हेन्डरसनले एक गोल गर्दा ब्राईटनका लिंड्रो ट्रॉसर्डले एक गोल फर्काएका थिए ।

खेलको छ्ठौं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गर्दै टिमलाई सुरुवाती अवस्थाबाटै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि लिभरपुलले थप एक गोल गर्न सफल भयो । दोस्रो गोल जोर्डनले गरेका थिए ।

२-० ले पछि परेको अवस्थामा ब्राईटनले पहिलो हाफको अन्त्यतिर एक गोल फर्कायो । टिमको लागि अग्रता कम गराउने क्रममा ब्राईटनका लिंड्रोले गोल गरेका थिए ।

यसरी पहिलो हाफ भित्र २-१ ले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो । ७६ औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

यो जितसँगै लिभरपुलको अंकतालिकामा ९२ अंक जोडेको छ भने ब्राईटन ३६ अंकसहित अंकतालिकाको १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्