onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रिकेटको यात्रा : उतार चढावले भरिपूर्ण

विज्ञान कार्की , पोखरा

आज भन्दा २४ वर्षअघि जब क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी ) ले नेपाललाई एसोसियट राष्ट्रको मान्यता दिएसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पाईला चालेको नेपालले यसबीचमा ठूलो उतार चढाव ब्यहोरेको छ ।

नेपाली क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्य देखि हाल ज्ञानेन्द्र मल्लको कप्तानीसम्म आईपुग्दा नेपाली क्रिकेटले धेरै फड्को मारेको मान्नुपर्छ । सुरुवाती एक दशक सुस्त गतिमा चलेपनी त्यसबेला देखि नेपाली क्रिकेटको जग बस्न सुरुवात भएको थियो।

तर पछिल्ला एक दशकमा भने नेपाली क्रिकेटको प्रदर्शनले सबैको मन जित्न सफल भएको छ । यसबीचमा नेपाल एसोसियट मुलुकहरुमा उदाउँदो शक्तिको रुपमा देखा पर्न थाल्यो ।

विषेशत : नेपालले प्रतियोगिता जित्न थाल्यो । नेपाल क्रमश : लयमा जम्दै थियो । त्यसबेला नेपाली प्रशिक्षकका रुपमा रॉय डायस रहेका थिए । उनलाई नेपाली क्रिकेटमा संरचना बनाउँनमा ठूलो योगदान पुर्याएको भनेर धेरैले सम्झिने गर्छ्न ।

उनि पछि पुबुदु दस्सानायकेले नेपाली राष्ट्रिय टिममा मुख्य प्रशिक्षकका रुपमा भित्रीएसँगै नेपालले अन्तर्राष्ट्रिय जगतमा राम्रो गर्दै गयो डिभिजन स्तरमा पनि च्याम्पियन हुन थाल्यो त्यसबीचमा उनकै प्रशिक्षणमा नेपालले बंगलादेशमा इतिहास कायम गर्यो ।

सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टि – ट्वान्टी विश्वकपमा नेपालले एतिहासिक सहभागिता जनाएन मात्र शनसनिपूर्ण प्रदर्शन गर्न पनि सफल भयो । अझै पनि त्यो पल सम्झिदा गौरव महसुस हुन्छ ।

बंगलादेश विश्वकपले नेपालमा क्रिकेटको लोकप्रियता बढाउँन निकै ठूलो भूमिका निर्वाह गर्यो । त्यसबेला नेपालमा फुटबलको एक छ्त्र राज जस्तै थियो । फुटबलमा ठूला- ठूला प्रतियोगिता र दर्शकहरुको सहभागिता पनि बाक्लो सङ्ख्यामा हुने गर्थ्यो ।

पछि नेपाली फुटबलमा अनेकौं विवाद सिर्जना हुन थाले । प्रदर्शन खस्किदो क्रममा रह्यो । यता क्रिकेटले भने अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेको थियो ।

यो अवस्थामा क्रिकेटले क्रमशः दर्शक तथा समर्थकहरुको साथ पाउँन थाल्यो । र अहिले नेपालको सबैभन्दा लोकप्रिय खेल कुन हो ? भन्दा क्रिकेटनै हो त्यसमा कुनै दुईमत छैन ।

लोकप्रिय हुनु मुख्यतया , टिमको प्रदर्शन नै हुने गरेको विश्व जगतमा पनि देखिन्छ । जुन देशमा जुन खेलले राम्रो गरिरहेको हुन्छ । त्यहि खेलनै सबैभन्दा बढी लोकप्रिय भएको हामीले पाउँछौ । त्यसमा एकल या टिम खेलले कुनै अर्थ राख्दैन ।

लामो इतिहास बोकेको नेपाली क्रिकेटमा पारस खड्काको कप्तानीलाई पनि उत्तिकै श्रेय जान्छ । खेलाडीका रुपमा प्रतिभावान खेलाडी त्यसमाथि कुशल नेतृत्व क्षमता भएकै कारण पारसले लगभग एक दशक जति टोलीलाई नेतृत्व गरे ।

एउटा कप्तानका रुपमा हेर्ने हो भने अहिलेसम्मकै सफल कप्तानका रुपमा पारस खड्कालाई लिन सकिन्छ । सन् २००९ देखि २०१९ सम्म उनले टिमलाई नेतृत्व गरे । जसमा सफलताको स्वाद धेरै छन् । नेपाली क्रिकेटको यो लोकप्रियता पाउनमा पनि अन्य खेलाडी , पदाधिकारी र प्रशिक्षकसँगै उनको पनि ठूलो योगदान रहेको छ ।

यो यात्रामा नेपाली क्रिकेटले यस्ता खेलाडीहरु पनि प्राप्त गर्यो जुन आफैमा अदभुत पनि रहेको छ । त्यसमा शक्ति गौचन , मेहबुब आलम देखि हाल सन्दीप लामिछानेसम्म रहेका छन् ।

जब नेपाल बंगलादेशबाट विश्वकप खेलेर फर्किएको थियो । त्यसपछि नेपालमा क्रिकेट लोकप्रिय बन्दै थियो । क्रिकेट नेपाललाई विश्वमा चिनाउँन गतिलो माध्यम बन्ने धेरैले अड्कल समेत काटेका थिए ।

नेपाल राम्रो लयमा भयो भने निकै माथिसम्म पुग्छ भन्ने धेरैलाई लागेको थियो । त्यसबीचमा राम्रो लयमा देखिएको नेपाली क्रिकेट आईसीसीको निलम्बनबाट जुध्यो ।

नेपाली क्रिकेट अभिभावक विहिन रह्यो । नेपालमा क्रिकेट प्रती देखिएको क्रेज र उदाउँदो गरेको देश भनेर आईसीसीले नेपालमाथि निलम्बन गरेपनी पूर्णरुपमा प्रतिबन्ध भने गरेन ।

नेपाली क्रिकेटलाई आईसीसीले हेर्न थाल्यो । क्रिकेट यसबीचमा वर्षहरुमा अन्योलमा बित्यो । नेपाली घरेलु संरचना जुन नेपाल क्रिकेट संघ ( क्यान ) ले गर्दै आउथ्यो जुन हुँन छोड्यो ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय बाहेक घरेलु क्रिकेट प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले गर्दै आएको प्रधानमन्त्री कप एक मात्र रहेको थियो ।

अन्तरास्ट्रिय स्तरमा भने जगत टमटाको प्रशिक्षणमा नेपालले पहिलोपटक एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गर्दा घरेलुतर्फ प्रधानमन्त्री कप बाहेक नेपालमा केही ठूला फेन्चाईज लिगहरुले खेलाडी र सिँगो क्रिकेटलाई बचाउँन ठूलो भूमिका निर्वाह गरे । जुन अहिले पनि सन्चालित छन् ।

तर सिनियर स्तरमा प्रतियोगिता भईरहेका थिए । खेलाडीहरुपनि ब्यस्तनै रहेका थिए । तर उमेर समूह र सम्भावना बोकेको महिला क्रिकेट ओझेलमा पर्यो ।

पछिल्लो समय १/२ वटा उमेर समूहका प्रतियोगिता भएपनी सिगों रुपमा भनेको जस्त्तो यो समयमा प्रतियोगिता हुन सकेन र त्यसको प्रतिफल क्रमश : खेलाडी उत्पादनमा देखा पर्न थाल्यो ।

यसरी यस समय खण्डमा जसो तसो नेपाली क्रिकेटले अभिभावक बिनानै वितायो । र सन् २०१९ मा नेपाल क्रिकेट संघ ( क्यान ) ले सर्तसहित फुकुवा हुन पुगेको छ । अहिले चतुर बहादुर चन्दले क्यानलाई नेतृत्व गरेका छन् ।

उनी र सिंगो निर्बाचित कार्यसमितीबाट नेपाली क्रिकेटले ठूलो आशा गरेको छ । अब हेर्न बाँकी पनि छ क्यान कसरी बढछ भनेर र आशा गरौं अझै नयाँ कार्यसमितीलाई गरेर देखाउँन धेरै समय बाँकी रहेको छ ।

जसरी निर्वाचन अघि उनिहरुको बाचा रहेको थियो त्यसमा उनिहरु सफल हुनेछन् । क्यान फुकुवा त भयो खुशीको कुरा तर यसबीचमा नेपालले दुई ठूला प्रतियोगिता आईसीसी विश्वकप र एसिया कप टि – ट्वान्टी छ्नोट प्रतियोगितामा निकै नै खराब प्रदर्शन गर्दा अहिले टिम आलोचित हुन पुगेको छ ।

स्वाभाविक रुपमा नेपाली क्रिकेटले यसपटक गर्छ भन्ने लागेको थियो त्यो नहुँदा त्यो आलोचना भएको हुनुपर्छ ।

यसो भनिरह्दा अब नेपाली क्रिकेट संघ ( क्यान ) ले आगामी दिनका लागि योजना बनाएर आउँनु पर्छ । नेपाली क्रिकेटलाई कुन दिशातर्फ डोर्‍याउँने अब सबै जिम्मा क्यानमाथि
रहेको छ क्यान लयमा फर्किने आशा सँगै नेपाली क्रिकेट पनि लयमा फर्किने पुर्ण विश्वास भने छ ।

( लेखक – लामो समय देखि नेपाली क्रिकेटलाई नजिकबाट पछ्याईरहेका छन् । )

प्रतिक्रिया दिनुहोस्