onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दक्षिण अफ्रिकासँग अष्ट्रेलियाको लज्जास्पद हार !

एजेन्सी । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया ७४ रनले पराजित हुन पुगेको छ ।

शनिबार राती सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ९२ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४५.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय १७ रनमा सिमित हुन पुगेपछी अष्ट्रेलिया पहिलो खेलमै निराश हुन पुग्यो ।

ठूलो लक्ष्यलाई पछ्याएको भएपनी स्टीवन स्मिथ र मार्नस लाबुसेन बाहेक अन्य खेलाडीको सन्तोषजनक प्रदर्शन रहेन ।

स्मिथले टिमका लागि सर्वाधिक ठूलो योगदान दिने क्रममा ७६ रनको पारी खेले । ९४ बलको सामना गरेका उनले ३ चौकासहित उक्त रन बनाए ।

यस्तै लाबुसेनले ५१ बलको सामना गर्दै २ चौकाको सहयोगमा ४१ रन बनाउँदा ओपनर ब्याट्सम्यान डेविट वार्नरले २५ रन र कप्तान आरोन फिन्च १० रनमा आउट हुन पुगेका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडिले ३ तथा तबराइज शम्सी र आनिच नोर्त्जेले समान २/२ विकेट र केशव महाराजले १ विकेट लिएका थिए ।

त्यसअघि बोल्याण्ड पार्कमा टस जितेर सुरुमा ब्याटिङ थालेको घरेलु टोली दक्षिण अफ्रिका निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।

टिमले ठूलो स्कोर खडा गर्ने क्रममा दक्षिण अफ्रिकाका मध्य क्रमका खेलाडी हेनरिक क्लासेनले शतकीय पारी खेले । ११४ बलको सामना गरेका उनले ७ चौका र ३ छ्क्कासहित अविजित रहदै १२३ रन बनाए ।

यस्तै टिमका लागि डेभिड मिलरले ६४ रन तथा काइल भेरिनेले ४८ रनको योगदान गरेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्सले ३ तथा मिशेल स्टार्क र जोश हेजलवुडले १ विकेट लिएका थिए ।

अब सिरिज अन्तर्गत दोस्रो खेल बुधबार हुनेछ । एकदिवसीय सिरिज अघि यी दुईबीच ३ खेलको टि – ट्वान्टी सिरिज भएको थियो जसमा अष्ट्रेलियाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्