onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोमान्चक बनेको खेलमा रिकी पोन्टिङको टिम विजयी

एजेन्सी । अष्ट्रेलियामा भएको विनाशकारी डढेलोका कारण नोक्सान पुगेकाका लागि सहयोगार्थ भएको बुशफायर च्यारिटी खेलमा रिकी पोन्टिङको टिम विजयी भएको छ ।

शनिबार भएको खेलमा रिकी पोन्टिङ -११ ले जित हासिल गर्ने क्रममा एडम गिलक्रिस्टको टोलीलाई १ रनले पराजित गर्न सफल भएको छ ।

खेलमा सचिन तेन्दुलकर प्रशिक्षक रहेको पोन्टिङ-११ ले प्रस्तुत गरेको १ सय ५ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको गिलक्रिस्ट -११ ले निर्धारित १० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ३ रनमा सिमित भएपछी रोमान्चक बनेको खेलमा रिकी पोन्टिङको टिम विजयी हुन सफल भयो ।

गिलक्रिस्ट -११ का लागि शेन वाटसनले सर्वाधिक ३० रन जोडे । रिटायर्ट हट भएका उनले उक्त रन बनाउने क्रममा ९ बलमा २ चौका र ३ छ्क्का प्रहार गरेका थिए ।

यस्तै एन्ड्र्यू साइमंड्सले पनि २९ रन बनाएका थिए । भने कप्तान एडम गिलक्रिस्टले १७ रन , युवराज सिंह २ रन , एलिस विलानीले ६ रन र निक रिभोल्टले ९ रन बनाएका थिए ।

बलिङतर्फ पोन्टिङ-११ का ब्रेट लीले २ तथा ल्यूक होजले १ विकेट लिएका थिए ।

त्यसअघि मेलबर्नमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोन्टिङ-११ ले निर्धारित १० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

पोन्टिङ-११ का लागि ब्रायन लाराले सर्वाधिक धेरै बनाए । रिटायर्ट हर्ट भएका उनले ११ बलमा ३ चौका र २ छ्क्कासहित ३० रन बनाए ।

यस्तै कप्तान रिकी पोन्टिङले पनि २६ तथा म्याथ्यू हेडेनले १६ रन बनाएका थिए ।

बलिङतर्फ गिलक्रिस्टका युवराज सिंह र कोर्टनी वाल्शले समान १/१ विकेट लिएका थिए ।

यस च्यारिटीबाट उठेको रकम अष्ट्रेलियन रेड क्रसलाई प्रदान गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्