onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी । अष्ट्रेलियालाई पराजित गर्दै साविकको विश्व विजेता भारत दक्षिण अफ्रिकामा जारी यु -१९ विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार सुपर लिगको पहिलो क्वाटरफाइनलमा अष्ट्रेलियालाई ७४ रनले पराजित गरेसँगै भारत सेमिफाइनल पुगेको हो ।

खेलमा भारतले प्रस्तुत गरेको २ सय ३४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ४३.३ ओभरमा अलआउट हुँदै १ सय ५९ रनमा सिमित भएपछी अष्ट्रेलिया भारतसामु निराश हुन पुग्यो ।

अष्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान सैम फैनिंगले सर्वाधिक ठूलो योगदान गरे । १२७ बलको सामना गरेका उनले ७ चौका र ३ छ्क्कासहित ७५ रनको योगदान गरे ।

सातौं विकेटका रुपमा आउट हुन पुगेका उनलाई टिमका अन्य खेलाडीहरुले राम्रो साथ सकेनन् । एकतर्फ सैम रहि रह्दा अर्को तर्फबाट अष्ट्रेलियाको विकेट पतन भईरहेको थियो ।

त्यसबीचमा लियाम स्कॉटले ३५ तथा पैट्रिक रोवेले २१ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंकसमेत जोडन नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङमा भारतका कार्तिक त्यागीले ४ तथा आकाश सिंहले ३ र रवि बिश्नोईले १ विकेट लिएका थिए ।

त्यसअघि सेनवेस पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

उसका लागि यशस्वी जयस्वालले सर्वाधिक ठूलो पारी खेलेका थिए । ओपनर ब्याट्सम्यान यशस्वीले ८२ बलको सामना गर्दै ६ चौका र २ छ्क्का सहित ६२ रन बनाएका थिए ।

यशस्वी बाहेक मध्य क्रमका ब्याट्सम्यान अथर्व आकोलेकरको अर्धशतकीय पारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्यो । उनले टिमका लागि अविजित रहदै ५५ रन बनाएका थिए ।

यस्तै टिमका लागि रवि बिश्नोईले ३० तथा सिद्धेश वीरले २५ रन बनाएपछि टिमले ठूलो योगफल खडा गर्न सफल भएको थियो ।

बलिङतर्फ अष्ट्रेलियाका कोरी केली तथा तोड मुर्फेले समान २/२ विकेट हात पारेका थिए भने म्याथ्यू विलान्स,कोनोर सुल्ली र तनवीर संघाले पनि समान १/१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्