onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

लगातार दोस्रो जितको खोजीमा भारत

एजेन्सी – घरेलु टोली न्युजिल्याण्ड र भारतबीचको दोस्रो टि – ट्वान्टी खेल आज हुँदैछ ।

नेपाली समय अनुसार १२:३५मा अकल्याण्डस्थित ईडेन पार्कमा हुने खेलमा पाहुना टोली जारी ५ खेलको टि – ट्वान्टी सिरिजमा लगातार दोस्रो जित हासिल गर्न चाहन्छ ।

यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई सानदार तरिकाले पराजित गर्न सफल भएको थियो ।

सुरुमा ब्याटिङ गर्दै न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ४ रनको विजयी चुनौतीलाई भारतले १९ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गरेको थियो ।

न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्ने क्रममा भारतका श्रेयस अय्यरले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा अविजित रहदै ५८ रन बनाएका थिए ।

खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका उनले अर्धशतकीय पारी खेल्ने क्रममा २९ बलमा ५ चौका र ३ छ्क्का समेत प्रहार गरेका थिए ।

यस्तै टिमलाई सिरिजमा विजयी सुरुवात दिलाउँने क्रममा कप्तान विराट कोहलीले ४५ तथा लोकेश राहुलले ५६ रनको योगदान गरेका थिए ।

यसअर्थमा आज पनि भारत उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

अब न्युजिल्याण्ड भ्रमण दौरान भारतले टि – ट्वान्टी सिरिज पछि ३ खेलको एकदिवसीय र २ टेस्ट खेल खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्