onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रोहितको उत्कृष्ट ब्याटिङमा मलेसियन टोलीमाथि नेपाली टोलीको सहज जित

काठमाडौं (अनलाइन खेलखबर ) – नेपाल भ्रमणमा आएको मलेसियन क्रिकेट टोली फेरी पनि पराजित हुन पुगेको छ ।

बिहिबार भ्रमणको अन्तिम खेलमा मलेसियन टोली नेपाल क्यान अध्यक्ष -११ सँग ५ विकेटले पराजित हुन पुगेको छ ।

खेलमा पाहुना टोली मलेसियन सेलेक्सन-११ ले दिएको १ सय ५८ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाली टोलीले २३.५ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपाली टोलीले सहज जित हासिल गर्ने क्रममा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ठूलो पारी खेले ।

७० बलको सामना गरेका रोहितले ८ चौका र ४ छक्का सहित ८१ रनको योगदान गरेका थिए ।

यस्तै नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले २८ रन जोडे भने लोकेश बमले २६ रनको योगदान गर्दा टिमले सहज जित हासिल गर्न सफल भयो ।

बलिङतर्फ मलेसिया टोलीका विजय उन्नीले २ तथा देबेन्द्र मोगन, मोहम्मद हफिज र अनवार रहमानले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियन टोली ४३.५ ओभरमा अलआउट हुँदै १ सय ५७ रनमामा सिमित हुन पुगेको थियो ।

मलेसियन टोलीका लागि ओपनर ब्याट्सम्यान भुषण सेभले सर्वाधिक ३० रनको योगदान दिए भने शार्विन मुनियन्डीले २२ , सैद अजिजले १५, मोहम्मद आरिफले १७ र देवेन्द्र मोगनले २८ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नेपाली टोलीका अभिनाष बोहराले सर्वाधिक ३ तथा ललित नारायण राजबम्शी र कुशल मल्लले समान २/२ विकेट लिएका थिए ।

भने किशोर महतो र कमल सिंह ऐरीले पनि १/१ विकेट लिएका थिए ।

नेपाली टोलीसँगको ३ खेलको मैत्रीपूर्ण एकदिवसिय खेलमा नेपाली टोलीले ३ वटै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यसअघि नेपाली टोलीले पहिलो खेलमा मलेसियन टोलीलाई १ सय ३५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा १ सय ७० रनले पराजित गर्न गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्