onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गण्डकीमाथि सानदार जित हासिल गर्दै सुदुर पश्चिम सेमिफाइनल प्रवेश

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदुर पश्चिम सेमिफाइनल पुगेको छ ।

आईतबार भएको समूह`डी´ को दोस्रो खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटले पराजित गर्दै सुदुर पश्चिम् प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनल पुगेको हो ।

अब सुदुर पश्चिमले सेमिफाइनलमा माघ २ गते विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

खेलमा गण्डकी प्रदेशले प्रस्तुत गरेको ६५ रनको झिनो विजयी चुनौतीलाई सुदुर पश्चिमले १०.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदुर पश्चिमका लागि गजेन्द्र बोहराले ३४ रनको योगदान गरे । दिपेश खत्रीको बलमा क्याच आउट हुन पुगेका गजेन्द्रले ३१ बलमा ७ चौका प्रहार गर्दै ३४ रन बनाएका थिए ।

यस्तै अरुण एरि र खडक बोहराले क्रमश : १० र १६ रनमा अविजित रहे ।

त्यसअघि स्थानिय इनरुवा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निकै खराब ब्याटिङ गर्ने क्रममा २३.३ ओभरमा अलआउट हुँदै ६४ रनमा सिमित हुन पुग्यो ।

गण्डकीका लागि ओपनर किशोर महतोले १७ रन तथा सुवाश भण्डारी ९ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंक सम्म जोडन नसक्दा टिम निकै कम योगफलमा रोकियो ।

गण्डकीको ब्याटिङ ध्वस्त पार्ने क्रममा सुदुर पश्चिमका विनोद लामाले सानदार बलिङ प्रस्तुत गरे ।

९.३ ओभर बलिङ गरेका विनोदले २ ओभर मेडन राख्दै मात्र १४ रन खर्चिएर ७ विकेट लिए ।

यस्तै टिमका लागि शेर मल्लले २ तथा विक्रम थगुंनाले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्