onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीपको टिम मेलबर्नको बिग ब्यासमा सातौं जित

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलले कप्तानी पारी खेलेपछी नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा सातौं जित हासिल गरेको छ ।

शुक्रवार भएको लिगको आफ्नो आठौं खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको छ ।

खेलमा रेनेगेड्सले दिएको १ सय ६९ रनको चुनौती मेलबर्न स्टार्सले १८.४ मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

मेलबर्न स्टार्सको जितमा कप्तान ग्लेन म्याक्सवेलले सादार ब्याटिङ गरे । टिमलाई जिताउँन ठूलो योगदान गरेका उनले अविजित रहदै ४६ बलमा १ चौका र ७ छ्क्काको मद्दतमा ८३ रन बनाए ।

यस्तै हिल्टन कार्टराइटले ३५ रन तथा बेन डन्कले १४ रन जोडदा निक लार्किन ३३ रनमा अविजित रहे ।

बलिङतर्फ रेनेगेड्सका समित पटेल , रिचर्ड ग्लेसन र क्यामेरन बॉयसले समान १/१ विकेट लिए ।

त्यसअघि मेलबर्न रेनेगेड्सको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।

खेलमा मेलबर्न रेनेगेड्सले राम्रो सुरुवात गर्ने क्रममा ओपनर ब्याट्सम्यानहरुले ८६ रनको साझेदारी गरेका थिए ।

१०.३ ओभरमा पहिलो विकेटको रुपमा पभेलियन फर्किएका मार्कस ह्यारिसले ४२ रन बनाए । ३२ बल मात्र सामना गरेका उनले ३ चौका र २ छ्क्का प्रहार गरे ।

मार्कस आउट भएपछि टिमले अर्का ओपनर शन मार्शलाई गुमायो । उनले ईनिङको सर्वाधिक ठुलो योगदान गरे ।

सन्दीप लामिछानेको बलमा क्याच आउट हुन अघि उनले ४३ बलको सामना गर्दै ७ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए । त्यसपछि टिमका लागि बीउ वेबस्टरले २५ रनको योगदान गरे ।

सन्दिपको बलमा आउट हुन पुगेका उनले १५ बलमा १ चौका र २ छ्क्का प्रहार गरे । यस्तै कप्तान डानियल क्रिश्चियनले १२ तथा टोपरले १५ रन जोडे ।

बलिङतर्फ मेलबर्न स्टार्सका सन्दीपले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर २ विकेट लिए ।

यो सँगै जारी लिगमा सन्दीपले आफ्नो विकेट सङ्ख्या ८ पुर्याएका छ्न । यस्तै नार्थन कुल्टर नाइलले २ तथा हरिस रउफको नाममा पनि १ विकेट रहयो ।

जितसँगै मेलबर्न स्टार्स ८ खेलबाट ७ खेलमा जित हासिल गर्दै १४ अंकका साथ अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने पराजित भएको रेनेगेड्स ८ खेलमा ८ वटै खेल गुमाउँदै अंकतालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्