onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमएम कपमा पुलिसको सानदार विजयी सुरुवात

सुनसरी ( अनलाइन खेलखबर ) | सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा पुलिसले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा कर्णाली प्रदेशलाई ठुलो अन्तरले पराजित गर्ने क्रममा २ सय ६७ रनले पराजित गरेको छ ।

खेलमा पुलिसले दिएको ३ सय ४७ रनको विशाल विजयी चुनौतिलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली प्रदेशले निकै खराब प्रदर्शन गर्दै २७.१ ओभरमा अलआउट हुँदै ७९ रनमा सिमित हुन पुग्यो ।

कर्णालीका लागि राज कुमार साहले सर्वाधिक २३ रनको योगदान गरेका थिए । यस्तै टेक सलामी मगरले १४ रन तथा दिवान पुनले १० रन बनाउनु बाहेक अन्य खेलाडीबाट दोहोरो अंक समेत जोड्न नसक्दा टिम निकै कम स्कोरमा रोकियो ।

बलिङतर्फ पुलिसका कप्तान मन्जिल श्रेष्ठ , सागर ढकाल र ललित भण्डारीले समान २/२ विकेट हात पारे । भने दीपेन्द्र सिँह एरि , पवन सरार्फ ,ललित राजबम्शी र कुशल भुर्तेलले पनि समान १/१ विकेट लिन सफल भए ।

त्यसअघि स्थानीय इनरुवा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विभागीय टोली नेपाल पुलिस ४९.३ ओभरमा अलआउट हुँदै ३ सय ४६ रन बनाएको थियो।

खेलमा राम्रो सुरुवात गरेको पुलिसका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र अमित श्रेष्ठले ठोस सुरुवात दिलाउने क्रममा राम्रो पारी खेले ।

यी दुईबीच ६९ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो । १०.६ ओभरमा पहिलो विकेटको रुपमा आउट हुन पुगेका अमित श्रेष्ठले २९ रनको योगदान गरे ।

अमित पछि सुनिललाई दीपेन्द्र सिँह एरिले साथ दिएका थिए । तर उनि २५ रन बनाएर दोस्रो विकेटका रुपमा आउट हुन पुगे ।

राज कुमार साहको बलमा आउट हुन पुगेका दीपेन्द्रले १९ बलको सामना गर्दै ३ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाए ।

त्यसपछि भने अनिल कुमार साह ३६ रन बनाएर आउट हुन पुग्दा खेलमा अर्धशतकीय पारी खेलेका सुनिल धमलाले ७० रनको योगदान टिमलाई दिए ।

चौथो विकेटका रुपमा युनिस विक्रम सिँहको बलमा आउट हुन पुगेका सुनिलले ९५ बलको सामना गर्दै ६ चौका र १ छ्क्काको मद्द्तमा उक्त रन बनाएका थिए ।

सुनिल पछि पुलिसका दिलिप नाथ र पवन सरार्फले समान १५/१५ रन थपे ।

यस्तै टिमको पारीलाई उकास्न कुशल भुर्तेलले अर्धशतकिय पारी खेल्ने क्रममा ७८ रनको योगदान गरे । ईनिङको सर्वाधिक धेरै रन बनाएका उनले ४९ बलमा ७ चौका र ५ छ्क्काको मद्धतमा उक्त रन बनाए ।

अन्त्यतिर ललित भण्डारीले पनि २७ रन थपे ।

बलिङतर्फ कर्णालीका कप्तान रबिन्द्र जंग शाहीले ३ विकेट लिदा युनिस बिक्रम सिँह र राजकुमार साहले समान २/२ विकेट लिए भने ललित प्याकुरेलको नाममा पनि १ विकेट लिए ।

अब प्रतियोगितामा भोलि (बिहिबार ) कर्णालीले र प्रदेश २को सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्