onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मी एमएम कपको सेमीफाइनल प्रवेश

इनरुवा ( अनलाइन खेलखबर ) | सुशन भारीको उत्कृष्ट बलिङमा विभागीय टोली त्रिभुवन आर्मी सुनसरी जिल्लास्थित इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा सेमिफाइनल पुगेको छ ।

मंगलबार भएको समूहको अन्तिम खेलमा आयोजक एमएमसीसी इनरुवालाई १० विकेटले पराजित गरेपछि समूह ए मा रहेको आर्मी समूहको विजेताको हैसियतबाट सेमिफाइनल प्रवेश गरेको हो ।

अब आर्मीले सेमिफाइनलमा प्रदेश ३ सँग माघ १ गते खेल्नेछ ।

खेलमा एमएमसीसीले प्रस्तुत गरेको ५७ रनको विजयी चुनौतीलाई आर्मीले ५ ओभरमा विना विकेटको क्षतिमा उक्त लक्ष्यलाई पूरा गर्यो ।

टिमलाई जिताउन कुशल मल्ल र हरि कृष्ण झाले अविजित रहदै क्रमश : ३५ र २० रनको योगदान गरे ।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजक एमएमसीसी इनरुवाले निकै खराब प्रदर्शन गर्ने क्रममा १९.३ ओभरमा अलआउट हुँदै ५६ रनमा सिमित हुन पुगेको थियो ।

इनरुवाका लागि सुशान्त तिमल्सिनाले १५ रन तथा सोनु मण्डलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन नसक्दा टिम निकै झिनो स्कोरमा रोकिन बाध्य भयो ।

एमएमसीसीको ब्याटिङ ध्वस्त पार्ने क्रममा आर्मीका सुशन भारी एक्कैले ह्याट्रिकसहित ७ विकेट लिन सफल भएका थिए ।८.३ ओभर बलिङ गरेका सुशनले ३ ओभर मेडन राखेर मात्र १६ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै हरि बहादुर चौहानले पनि ५ ओभर बलिङ गर्दै २८ रन खर्चिएर २ विकेट लिदा शाहव आलमले पनि २ ओभर मेडन राख्दै १ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्